दसैँमा पनि सुनसान गाउँ

१७ असाेज, काठमाडौँ ।अरू समयमा सुनसान हुने गाउँमा दसैँमा रमाइलो हुन्छ। रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरू दसैँमा फर्कने चलन हुन्छ। तर बागलुङका केही ग्रामीण क्षेत्र दसैँमा पनि सुनसान छन्।

बढ्दो बसाइँसराइ र विदेश पलायनका कारण दसैँमा गाउँ सुनसान भएका हुन्। खासगरी जिल्लाको काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी चितवन, बागलुङ बजार, पोखरालगायतका ठाउँमा जानेहरू बढेपछि दसैँ सुनसान बनेका हुन्।

पाँच वर्ष अगाडिसम्म दसैँ मान्नका लागि सहर बजार र विदेशबाट आफन्तजनको हातबाट टीका ग्रहण गर्न आउने धेरै भए पनि अहिले गाउँमा फाट्टफुट्ट मात्रै आएको बागलुङ नगरपालिका–११ का तिलबहादुर थापाले बताए। पहिले रोजगारका सिलसिलामा विदेश छिरेका र अध्ययन तथा विभिन्न कामका लागि बजार गएकाहरु दसैँका बेला गाउँ आउँदा निकै चहलपहल बढ्ने गरे पनि अहिले सुनासन रहेको उनको भनाइ छ।

थापा भन्छन्, ‘गाउँ त अब गरिब र दुःखीका लागि मात्रै हुने भयो, अरू बेला त गाउँ सुनसानै हुन्थ्यो तर दसैँको बेला भने धेरै मान्छे गाउँ आउँथे, अहिले दसैँमा पनि धेरै मान्छे गाउँमा आएनन्, आफन्तसँग जमघट हुँदा पो दसैँ आए जस्तो हुने रैछ, कोही नहुँदा त उराठ लाग्दो भएको छ, धेरैको घरमा ताला ठोकेका छन्, वरपरका छरछिमेकी बजार छन्, कोही विदेश छन्।’

गलकोट नगरपालिकाको अधिकांश गाउँ पनि यति बेला सुनसान छन्। गाउँका दुई/चार घरको चुलोमा आगो बले पनि धेरै घरमा झार पलाएका छन्। घरका बार्दली लेउले ढाकिएका छन् भने काठ मक्किएको गलकोट नगरपालिकाका वीरबहादुर नेपालीले बताए। धनीहरू सबै सहर पसेपछि अहिले गाउँमा गरिब वर्ग मात्रै रहेको उनको भनाइ छ। गाउँमा भएका सबै युवा विदेश पलायन हुँदा अहिले बुढाबुढी र केही बालबालिका बाहेक अरू कोही नभएको नेपालीले बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours