काष्ठमण्डपका रुपमा चिनिने मरुसत्तल: नुन र तेलको एकै भाउ

१६ असाेज, काठमाडौँ । मरुटोलमा मरुहिटी, मरुगणेश, मरुसत्तल। हनुमानढोका दरबार क्षेत्रमा ठडिएको सबैभन्दा पुरानो सम्पदा हो- मरुसत्तल।

काष्ठमण्डपका रुपमा चिनिने मरुसत्तल २०७२ बैशाखको भूकम्पपछि ध्वस्त भएको थियो। भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनःनिर्माण सम्पन्न भइ उद्घाटन भएको चार वर्ष हुँदासमेत सञ्चालन हुन सकेको छैन। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ चैत २१ गते काष्ठमण्डपको उद्घाटन गरेकी थिइन्।

काष्ठमण्डपको पुनर्निर्माण पुरानै शैली, शिल्प र प्रविधि प्रयोग गरी सम्पन्न गरिए पनि त्यहाँ रहेका गोरखनाथ र गणेशको मूर्तिलाई नयाँ मूर्तिले प्रतिस्थापन गरिएको भन्दै विरोध पनि भइरहेको छ।

दैनिक हजारौँ पर्यटकले अवलोकन गर्ने काष्ठमण्डपमा अहिले सर्वसाधारणलाई प्रवेश निषेध छ। आगन्तुक प्रवेश गर्ने ढोका बन्द छन्। लामो समयदेखि दैनिक सरसफाइ नहुँदा भुइँ, खम्बा र भित्तामा धुलो जमेको छ। पुनर्निर्माण सम्पन्न भएको भन्दै बनेको प्रतिवेदनको आधिकारिकतामा नै विवाद भएपछि काष्ठमण्डप सञ्चालनमा आउन नसकेको हो। विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। काष्ठमण्डप सञ्चालनमा ल्याउन सर्वपक्षीय प्रयासहरू पनि भइरहेका छन्।

अहिलेका अवस्थाबारेको कुराअघि काष्ठमण्डपलाई त्यसका केही पुराना कथन र केही प्रमाणका आधारमा हेर्नुपर्ने हुन्छ।

हनुमान ढोका क्षेत्र अहिले खुम्चिएजस्तो साघुँरो लाग्ने क्षेत्र होइन। ३५ चोक र पटाङ्‍गिनी भएको क्षेत्रको विशालता अहिले बाँकी बसेका १२ चोकले देखाउन सक्दैन नै। जुद्ध सडक बनेपछि छुट्टिएका हनुमान ढोका दरबार क्षेत्रको कतिपय भागहरू छुट्टिएको छुट्टियै भए।

हनुमान ढोका दरबार क्षेत्र कुनै एक राजाले बनाएको समष्टी संरचना नभएर विभिन्न राजाले समय समयमा बनाएका सम्पदाको एक रुप हो। जहाँ काष्ठमण्डप पुन: उही स्‍वरुपमा देखिएको छ।

गद्दी बैठकको अगाडि एक समय मरुसत्तलका रुपमा परिचित काष्ठमण्डप अहिलको काठमाडौं नामसँग नजिक देखिन्छ। नेपाली वास्तुकलामा अनुपम काष्ठमण्डप उपत्यकामा राजदरबारको बीच पनि तल्लो तहसँग जोडिएको सम्पदा हो। जसमा सबैले आफ्नो भएको अनुभूति र प्रयोग गर्न पाउँथे। यसको बनोट नै सत्तलका रुपमा छ। जहाँ आगन्तुकहरू बास बस्न सक्छन्।

मल्लकालमा भारत र तिब्बत आउजाउ गर्ने मुख्य बाटो उपत्यका नै थियो। भारतबाट ल्हासा र ल्हासाबाट भारत जाने व्यापारिक मार्गको प्रमुख स्थानको रुपमा गुलजार थियो। त्यसरी बास बस्नका लागि मरुसत्तल जस्ता पार्टीहरू नै उपयुक्त बासस्थान हुन्थे। (मेडिएभल नेपाल, भाग २)

मरुसत्तलको भुँइतलामा गोरखनाथको मूर्ति छ। जहाँ ठूला काठका चार स्तम्भ छन्। माथिल्लो तलामा जाने उस्तै सुन्दर काठका भर्‍याङ छन्। उबेलाको यो विशाल सत्तलमा पस्न चारैतिर ढोका छन्। पूर्वतिरको मूल द्वारमा प्रस्तरका दुई सिंह स्वागतमा रहन्छन्। यस्तो अनुपम काष्ठमण्डपबारे बुढापुरानामा प्रचलित एउटा कथा छ-

काठमाडौंमा राजा लक्ष्मीनरसिंह मल्लको पालामा मछिन्द्रनाथको लगन जात्राको दिन मानिसको रुप लिएर कल्पवृक्ष जात्रा हेर्न आइरहेका थिए। एकजना गुरुले कल्पवृक्षलाई चिनेछन् र च्याप्प समातेछन्। एउटा सिंगो रुखले एउटा सत्तल बनाइदिने प्रतिज्ञा नगर्दासम्म पुजारीले कल्पवृक्षलाई छाडेनछन्। त्यसको केही दिनमा कल्पवृक्षले एउटा सालको रुख पठाइदिए। राजासँगको अनुमतिमा पुजारीले त्यही एउटा सालको काठले सिंगो मरुसत्तल बनाए। एउटै रुखको काठ हुनाले त्यसलाई काष्ठमण्डप भनियो। (गौतमवज्र बज्राचार्य, हनुमानढोका राजदरबार, २०३३)

यज्ञमान बज्राचार्यले २०६० सालमा लेखेको ‘लीलाबज्र: काष्ठमण्डप निर्माता’ पुस्तकलाई आधार मान्ने हो भने काष्ठमण्डप आठौँ शताब्दीमा बनेको केही कथनहरू छन्। माथिको जनश्रुतिमा प्रख्यात कथालाई आधार मान्ने हो भने कल्पवृक्षलाई वशमा पार्ने तान्त्रिक विद्याका धुरन्धर गुरु उनै लीलाब्रज भएको मान्न सकिन्छ।

तर लोकमा चलेको यो कथाका आधारहरूमाथि प्रश्न पनि उठ्ने गरेका छन्। कथामा भएका राजा लक्ष्मीनरसिंह १७औँ शताब्दीको उत्तरार्धका हुन्। जब कि उनीभन्दा झण्डै पाँच शताब्दीअघि नै सहरको नाम काष्ठमण्डप भनेर रहिसकेको थियो। (इतिहास-संशोधनको प्रमाणप्रमेय)

काष्ठमण्डपभित्र पाइएको ताम्रपत्र पनि विक्रमको १४औँ शताब्दीको सम्म पाइएको थियो। कुराहरू धेरै आइरहे पनि काष्ठमण्डप यही समयमा यही व्यक्तिमार्फत बनेको हो भन्ने यकीन प्रमाण इतिहास अन्वेषकहरूले पाएका छैनन्।

भूकम्पपछि नामेट भएको काष्ठमण्डपमा केही पुरातात्विक खोज पनि भए। जसमा त्यहाँ तल्लो जगको भित्री भागमा रहेको नौवटा मण्डप सातौँ शताब्दीमा नै बनेको प्रमाण भेटिए। त्यहाँ नै काठका थामहरूको अध्ययन गर्दा एउटा काठ पाँचौँ शताब्दीको भएकोसम्म खुल्यो। यसरी पाँचौँ शताब्दीदेखि ११औँ शताब्दीसम्मका प्रमाणहरू हेर्दा अहिले इतिहास अन्वेषकहरू काष्ठमण्डपको देखिआएको स्वरुप एउटै समयमा एउटै व्यक्तिमार्फत निर्माण नभइ फरक-फरक समयको समष्टी निर्माणका रुपमा लिन्छन्।

लिच्छवी राजाहरूको समयमा काठमाडौं सहर दक्षिणकोलिग्राम र कोलिग्राम गरी दुई भागमा विभाजित थियो। लिच्छविहरूको समयपछि काठमाडौंको दक्षिण भागलाई यङ्गल र उत्तरी भागलाई यम्बु भन्ने चलन थियो। त्यसबेलाको मरुसत्तल यङ्‍गलभित्र पर्दथ्यो। त्यहाँ भेटिएको ताम्रपत्रमा सत्तलको नाम ‘यंग्रमण्डो’ अर्थाल यङ्‍गलको मण्डप भनेर उल्लेख थियो। (इतिहास-संशोधनको प्रमाणप्रमेय)

सत्तल पाटी आदि सार्वजनिक प्रयोगका लागि भवन बनाइँदा सँगै एउटा धारा बनाउनु अनिवार्य जस्तै थियो। हुने सक्नेले सत्तलनजिक गहिरो गरेर ढुंगेधारा नै बनाउँथे। नसक्नेले पनि कुवा बनाएर पानी प्रयोग गर्न मिल्ने ढुंगे टुटेधारा हाल्ने चलन थियो।

त्यसको उद्देश्य पाटीमा बस्न आउने आगन्तुकले पानीका लागि दु:ख पाउनु नपरोस् भन्ने थियो। यसैले मरुसत्तलको पश्मितिर रहेको मरुहिटीको सम्बन्ध सत्तलसँग जोडेर हेरिन्छ।

निर्माण नै सार्वजनिक भवनका रुपमा रहेको काष्ठमण्डप सधैँ जनतासँग भने रहेन। विभिन्न समय राजकाजसँग नजिक रहेकाले त्यसको प्रयोग गरिरहे। अहिले आइपुग्दा पनि त्यसमा जनभावनाको कदर हुन मुस्किल भइरहेकै छ।

सार्वजनिक भवनको रुपमा निर्माण भएको काष्ठमण्डप मल्लकालमै केही योगीहरूको अखडाको रुपमा मात्रै विकास भयो। प्रत्येक वर्ष गोसाइँकुण्डमा मेला भर्न जाने योगीहरू त्यहाँबाट फर्केर काष्ठमण्डपमा नै चक्रपूरा गरेर भोज खाने गर्थे। काष्ठमण्डपमा गोरखनाथको मूर्ती पनि त्यहीसँग जोडेर हेरिन्छ। (योगी नरहरिनाथ, ‘काष्ठमण्डप’ संस्कृत सन्देश, २०१०)

जनश्रुतिअनुसार काष्ठमण्डपको निर्माण सम्पन्न भइसकेपछि गरिनुपर्ने प्रतिष्ठा पूजा भएको छैन। भनिन्छ, ‘जहिले नुन र तेल एउटै भाउमा बेचिन्छ, त्यसैबेला मात्र यस मण्डपको प्रतिष्ठा हुन्छ’ भन्ने आहान छ। यसलाई तान्त्रिक लीलाब्रज या अरू कोही एक मच्छिन्द्रनाथका पुजारीको उस्तै कथासँग जोडेर हेर्नेहरू तीनै गुरुले कल्पवृक्षलाई सधैँ राखिरहनका लागि नुन र तेलको भाउ एकै हुने समयमा मुक्ति दिने भनि सर्त राखेको पनि बताउँछन्।

अब भने उसैगरी नुन र तेलको एकै भाउ पर्खिइने छैन। भूकम्पपछि पनि काष्ठमण्डपको कुनै कुनामा कल्पवृक्ष बसिरहेका भए अहिले त उनले पनि बुझिसके होलान्- आकाश छुन लागेको तेलको भाउसँग नुनको भाउ कहिले पो मिलोस्।

काष्ठमण्डपमा पहिलेको अवस्थाबाट त्यहाँभित्र रहेका मूर्तिहरु भने फेरिएका छन्। गोरखनाथसहित गणेशका पाँच पुराना मूर्तिको ठाउँमा नयाँ मूर्ति राखिएका छन्। भूकम्पपछि ती मूर्ति अहिले हनुमानढोका दरबार संग्रहालयमा राखिएका छन्।

काठैकाठको काष्ठमण्डपमा अहिले पुन:निर्माण गर्दा पहिले भनिएजस्तो एउटै रुखको काठ सम्भव नभएपनि बारा, पर्सा, रौतहट, महोत्तरी, कञ्चनपुरलगायत जिल्लाका जङ्गलमा गएर राम्रा काठ संकलन गरेर ल्याइ पुनःनिर्माण सम्पन्न भएको समितिको भनाइ छ। त्‍यसमा भूकम्पअघि काष्ठमण्डपमा रहेका दुई काठको पुन: प्रयोग पनि गरिएको छ। जसमा एउटा १६ सय वर्ष पुरानो हो भने अर्को एक हजार वर्ष पुरानो काठ हो।

काष्ठमण्डपमा पहिलेबाट चलिआएका कथाहरूमा अहिलेको पुन:निर्माणका एकदुई कथाहरू जोडिने नै छन्। कसरी स्थानीयले आफ्नो सम्पदामा चासो दिएर उही स्वरूप फर्काउन सके भन्ने कथा त्यसमा छुट्ने छैन नै। नामेट सम्पदाको पुनर्जीवनको कथा पछाडिका पुस्तामा पक्कै चाख हुनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours