३० फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालले सदस्यता विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम महासङ्घका अध्यक्ष चिराक मानसिंह कुँवरको अध्यक्षता तथा उपाध्यक्ष प्रदीप कार्कीको सहजीकरणमा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख आतिथ्यता राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले गरेका थिए।
कार्यक्रममा महासङ्घका अध्यक्ष कुँवरले नयाँ सदस्यहरूलाई सदस्यता वितरण गर्दै संगठनमा आबद्ध हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे। उनले वर्तमान विषम परिस्थितिमा श्रमिक तथा व्यवसायीहरूको हकहितका लागि महासङ्घ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा बोल्दै उपाध्यक्ष कार्कीले राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीको शुभेच्छुक संस्था भएको स्मरण गराउँदै विगत १२ वर्षदेखि महासङ्घले श्रमिक तथा व्यावसायिक हकहितका लागि संघर्ष गर्दै आएको बताए। उनले रोजगारी सिर्जनाका लागि विभिन्न पहल गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा युवा तथा महिला उद्यमीलाई श्रमसँग जोड्दै आत्मनिर्भर बनाउने दिशामा संगठन अझ सशक्त रूपमा अघि बढ्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि महामन्त्री राणाले देशको पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै हालै सम्पन्न निर्वाचनले विभिन्न सरकारी निकाय, विश्वविद्यालय लगायत क्षेत्रमा देखिएको दलीय हस्तक्षेप अन्त्य हुने संकेत दिएको बताए।

उनले देशको विकास सबैको साझा लक्ष्य हुनुपर्ने उल्लेख गर्दै आफ्नो पार्टीले निरन्तर उठाउँदै आएको एजेण्डा पुनः दोहोर्याए। राणाले भने, यदि राष्ट्रिय स्वतन्त्र पार्टीले राजसंस्था, हिन्दु राष्ट्र, संघीयता खारेजी तथा धर्मनिरपेक्षताको विषयमा सकारात्मक धारणा लिन्छ भने राप्रपा सहयोग गर्न तयार रहेको बताए।
उनले देशमा राजसंस्था र हिन्दु राष्ट्र चाहने नागरिकको संख्या ठूलो रहेको दाबी गर्दै यस्तो विचार राख्ने शक्तिहरू एकीकृत हुन नसक्दा निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको बताए। राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा कहिल्यै समाप्त नहुने उल्लेख गर्दै श्रमिक तथा व्यवसायीको प्रवर्द्धन र सिपमूलक रोजगारी सिर्जनाका लागि राप्रपा सक्रिय रूपमा लाग्ने बताए।

कार्यक्रममा विभिन्न व्यवसाय तथा श्रमिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले श्रमिक तथा व्यवसायीहरूको हित संरक्षण, सिपमूलक रोजगारी सिर्जना तथा संगठन विस्तारका विषयमा पनि छलफल गरेका थिए।


+ There are no comments
Add yours