‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

१४ असाेज, म्याग्दी वर्षा कम हुँदै गएपछि शरद्याममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला ।

रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरु । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द । शरद्यामको मौसमसँगै चाडपर्वले मानिसहरुको मनमा उमंग छाएको छ । सहर बजार र विदेशिएकाहरु दशै पर्व मनाउनका लागि जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघर गुुन्जायस भएका छन् । रोजगारी, अध्ययन, पेशा र व्यवसायको लागि बजार झरेका र विदेशिएकाहरु जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको मालिका गाउँपालिका–३ का गोविन्द पटेलले बताए ।

“अघिपछि गाउँघरमा युुवाहरु नभएपनि विदेशीएका र सहर पसेका आफन्तहरु गाउँ फर्केपछि रौनक छाएको छ,” उनले भने “चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र ईष्टमित्रहरुको मिलन गराउँदा उमंग छाएको छ ।”

छ वटा स्थानीय तहको ४५ वटा वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसंख्या छ । वि.स. २०६८ पछिको दश वर्षमा म्याग्दीको जनसंख्या करिब सात हजार जनाले घटेको हो । गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट सुविधा पुगेपनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिसहरु सहर तथा विदेशीने क्रम बढेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दीका स्थानीय तहहरुमा ८९ परिवार बसाई सराई गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छोडेर अन्यत्र गएका छन् । अन्य समय विद्यालय उमेरका बालबालिका र जेष्ठ नागरिकहरु बढी भेटिने ग्रामिण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसहरुको चहलपहल बढेको छ । धवलागिरी गाउँपालिका–७ ताकमका सुनेश केसी पाँच वर्षपछि दशै मनाउन कोरीयाबाट जन्मथलो आएका छन् ।

“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झीएर न्यास्रो लाग्थ्यो,” उनले भने “उकाली ओराली गरेका भूगोल, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीहरुसँगको आत्मियता विदेशमा हुदैन् ।”

सहरबजार र विदेशको चाडपर्व घर र परिवारमा सिमित हुुन्छ । गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति लुुकेको हुुन्छ । आफन्त साथीभाई र इन्टमित्रहरुको भेटघाटले विगतको स्मरण गराई नयाँ योजना बनाउन सघाउने बेनी नगरपालिका–५ का दिनेश बानियाले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours