११ असाेज, धनकुटा । वर्षौंदेखि बसिरहेको घर आफैंले भत्काउनुपर्दा साँगुरीगढी गाउँपालिका—६ मुक्तेन गाउँका रणबहादुर मगरको मन उदास थियो। पहिरोको जोखिमले घर भत्काउनुपर्दा गहभरि आँसु थिए। घरबारी बस्नै नहुने गरी पहिरोले भाँसिएपछि दुईतले घर भत्काउन उनी बाध्य भए।
मंगलबार उनको घर भत्काउन छरछिमेकीले सहयोग गरिरहेका थिए। घरसहित उनको २३ रोपनी जग्गा थियो। २३ रोपनी जग्गामध्ये अधिकांश भूभाग पहिरोले चर्किएको छ। अहिलेसम्म करिब ७ रोपनी जग्गा पहिरोले लगिसकेको रणबहादुरले बताए। बाँकी भएको जग्गा पनि चर्किएको छ। बर्सेनि पहिरोको क्षेत्र बढ्दै गइरहेको छ। त्यो जग्गा पनि पहिरोले कुन दिन लाने हो टुंगो छैन। कुन बेला लैजाने हो भन्ने पिरलो लागिरहने उनी बताउँछन्।
ढुंगा, माटो र टिनको छानोले बनेको उनको दुईतले घर चर्किएर बसोबास गर्न नमिल्ने अवस्थामा पुगेको थियो। घरको भित्री भाग चर्किएका थिए। आँगन एक फिट तल धसिएको छ। हालै निर्माण गरेको पक्की शौचालयसमेत चर्किएको छ । उनको परिवारमा सात जना छन्। अहिले छरछिमेककै सरसहयोगमा एक सय मिटर पर सुरक्षित ठाउँमा टहरा निर्माण गरिरहेको उनले बताए।
त्यस्तै सोही गाउँका ३५ वर्षीय राजकुमार मगरको घर पनि बस्नै नहुने गरी चर्किएको छ। पाँच जनाको परिवार रहेको उनलाई अब कहाँ बस्ने भन्ने पिरले सताउन थालेको छ। ढुंगा, माटो र टिनको छानोले बनेको दुईतले कच्ची घरको विभिन्न भाग चर्किएको उनले बताए। साँगुरीगढी गाउँपालिका— ६ मुक्तेन ठूलो बस्ती भएको गाउँ हो। केही वर्ष अघिसम्म यहाँ १ सय २ घरपरिवारको बसोबास थियो। पहिरोको जोखिमकै कारण यहाँबाट विस्थापित हुँदै बसाइँ सर्ने क्रम बढ्दै गएको छ। ‘१ सय २ घरमध्ये हालसम्म ३८ घरपरिवार बसाइँ सरिसकेका छन्’ रणबहादुर भन्छन्, ‘अहिले मुक्तेन गाउँमा ६४ घरपरिवारको मात्रै बसोबास रहेको छ।’ अधिकांश बसाइँ जानुको मुख्य कारण पहिरो नै रहेको उनी बताउँछन्।
गाउँ नजिकैको पहिरो बिस्तारै बस्तीसम्म आइपुगेको छ। पछिल्लो समय दर्जनभन्दा घरपरिवार विस्थापित भइसकेका छन्। अरू घरपरिवार पनि विस्थापित हुने क्रममा छन्। केही दिन अघिमात्रै लगातार अविरल वर्षापछि खसेको पहिरोले नौ घर उच्च जोखिममा परेका थिए। घरहरू बस्नै नहुने गरी चर्किएका छन्। स्थानीयले घर भत्काएर अन्यत्र अस्थायी टहरा बनाएर सर्न थालेका छन्।
पहिरोकै कारण ४४ वर्षीय केवलप्रसाद मगरको ढुंगा–माटो र टिनको छानोले बनेको दुईतले घर पूर्ण रूपमा क्षति भएको छ। अहिले नजिकै अस्थायी टहरा बनाई चार जनाको परिवारसहित बसोबास गरिरहेको केवलप्रसाद मगरले बताए।
त्यस्तै, ४८ वर्षीय मोहन मगरको दुईतले कच्ची घरको भान्सासहित विभिन्न भाग चर्किएको छ। परिवारका चार जनाको अझै स्थानान्तरण हुन बाँकी छन्। ५९ वर्षीय विष्णुबहादुर मगरको दुईतले घर विभिन्न भागमा चर्किएर पहिरोको उच्च जोखिममा छ। परिवारमा नौ जना सदस्य भए पनि उनीहरूलाई अझै सुरक्षित स्थानमा सारिएको छैन।
४६ वर्षीया कुमारी मगरको दुईतले कच्ची घर चर्किएर बस्न नमिल्ने अवस्थामा पुगेको छ। परिवारका सात जनाको स्थानान्तरण हुन बाँकी छ। ८२ वर्षीय भीमबहादुर मगरको एकतले घर चर्किएर बस्न नमिल्ने भएपछि छिमेकीको घरमा आश्रित छन्। ७८ वर्षीय प्रेमबहादुर मगरको एकतले घर चर्किएर बस्न नमिल्ने भएपछि परिवारका पाँच जना सदस्य हाल छिमेकीको घरमा आश्रित छन्।
२०४५ सालको भूकम्पपछि निरन्तर पहिरो
मुक्तेन गाउँमा २०४५ सालको भूकम्पपछि निरन्तर पहिरो जान थालेको स्थानीय बताउँछन्। मुक्तेन गाउँभन्दामुनि लेउती खोलाको शिर रहेको छ। ०४५ सालको भूकम्पपछि गाउँभन्दामुनि सानो पहिरो गएको थियो। त्यो पहिरो विस्तारै बढ्दै बस्तीसम्म आइपुगेपछि विकराल रूप लिएको रणबहादुर मगर बताउँछन्। पछि ०७२ सालको भूकम्पले झन् ठूलो क्षति पु¥यायो। पहिरोकै कारण तल्लो क्षेत्रका ४÷५ घरपरिवार विस्थापित भएर अन्तै बसाइँ सरेको उनले बताए। पुस्तौंदेखि बसिरहेको थातथलो पहिरोले लगे पनि राजकुमार, प्रेमबहादुर र कुमारी दर्लामी मगरको परिवार अहिले विस्थापित भइसकेका छन्।
बस्ती स्थानान्तरणको विकल्प छैन
मुक्तेनको सिंगो गाउँ नै पहिरोको चपेटामा परेको छ। गाउँको दुई ठूला पहिरो अहिले बढ्दै बस्ती नजिक आइपुगेको छ। दर्जनभन्दा घर पहिरोले लगिसकेको छ। माटो तान्दै पहिरो बस्ती भएको ठाउँसम्म आइपुगेको छ अन्य घरहरू पनि जोखिममा छन्।
वर्षौंदेखि निरन्तर रूपमा पहिरो गइरहेको छ। अन्य बस्ती पनि जोखिममा रहेका छन्। जसको कारण बस्ती स्थानान्तरणको विकल्प छ्रैन। अहिले जोखिममा रहेका घर परिवारका सदस्यहरूले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको माग स्थानीय तहसँग गरिरहेका छन्। जोखिमयुक्त घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने स्थानीय रणबहादुर मगरले बताए।
इलाका प्रहरी कार्यालय भेडेटारका प्रनानि रमेश प्रधानको नेतृत्वमा गएको पाँच जनाको प्रहरी टोली, गाउँपालिका अध्यक्ष जितेन्द्र राई, वडा नं. ६ का वडाध्यक्ष यमप्रकाश मगर तथा स्थानीयवासीले संयुक्त रूपमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरेका थिए। गाउँपालिका अध्यक्ष राईका अनुसार पहिरोले घरमा उच्च जोखिम उत्पन्न गरे पनि अहिलेसम्म मानवीय तथा चौपाया क्षति भने भएको छैन। गाउँपालिकाले पीडित परिवारलाई तत्काल राहत तथा सुरक्षित बसोबासको व्यवस्था गर्ने तयारी गरेको अध्यक्ष राईले बताए।
मझुवामा उस्तै त्रास
सोही वडाको मझुवा गाउँमा पनि मुक्तेनको जस्तै त्रास रहेको छ। सो गाउँमा एक सय घरपरिवारको बसोबास छ। तर अहिले पहिरोको त्रासले दर्जनभन्दा बढी घरपरिवार विस्थापित भइसकेका छन्। सो गाउँको माटो पनि कमेरो फुस्रो भएकोले गर्दा हिउँद र बर्खा दुवै समयमा पहिरो गइरहन्छ।
गाउँको दुई ठाउँमा ठूला पहिरो रहेका छन्। १९९० सालको भूकम्पदेखि पहिरो गइरहेको छ। उनले भने ‘२०४५ र २०७२ सालको भूकम्पले धक्का दिएपछि धेरै मात्रामा पहिरो जान थालेको छ। पहिरो रहेको स्थानमा दर्जनभन्दा बढी घर थिए। तर अहिले त्रासले सबै विस्थापित भइसके।
भेडेटार–रवि राँके सडक पहिरोको उच्च जोखिममा
पहिरोको कारण गाउँबस्तीमात्र होइन निर्माणाधीन पूर्वाधारसमेत जोखिममा रहेका छन्। अहिले भेडेटार–रवि–राँके सडक खण्डअन्तर्गतको निर्माणाधीन सडकमा पहिरो जान थालेको छ। विशेषगरी सडक निर्माणको क्रममा लगाइएको मेसिनरी वालहरू पहिरोले तान्ने गरेको छ। नाम्जे गाउँ नजिकै रहेको मझुवा गाउँभन्दा माथिल्लो खण्डमा रहेको सडकको आधाभन्दा बढी भाग पहिरोले तानिसकेको छ। अहिले पनि तान्ने क्रम जारी नै छ। पहिरोकै कारण सडक उच्च जोखिममा रहेको साँगुरीगढी गाउँपालिका— ६ का वडाध्यक्ष यमप्रकाश मगरले बताए।
मझुवा गाउँ नजिकैको स्थानीय साचा खोलाको पहिरोस्थलदेखि करिब एक सय मिटर उचाइमा सडक मार्ग छ। तर बर्सेनि पहिरोको क्षेत्र बढिरहेको हुँदा सो सडक पनि जोखिममा रहेको स्थानीय बासिन्दाको भनाइ छ। सडक क्षेत्रमा पनि कमेरो फुस्रो माटो भएकोले गर्दा सडकलाई पनि पहिरोले तान्न सक्ने सम्भावना रहेको स्थानीय बासिन्दा बताउँछन्।


+ There are no comments
Add yours