पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारको नेतृत्वमा प्रस्ताव, मेयर बालेनको समर्थन

२५ भदौं, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सार्ने प्रस्तावमा समर्थन जनाएका छन्। जेनजीका प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए। संवेदनशील समयमा कानून र विधिको शासन कायम राख्न सक्ने इमानदार छवि भएको व्यक्तिको आवश्यकता रहेको भन्दै कार्कीको नाम अघि सारिएको हो।

बुधबार दिउँसो जेनजी प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश कार्कीको नाम औपचारिक रूपमा प्रस्ताव गरेका थिए। यद्यपि, जंगीअड्डा बाहिर भेला भएका केही युवाहरूले यो प्रस्तावको विरोधमा नाराबाजी गरेका छन्। विरोधमा उत्रिएका युवाहरूले मेयर बालेन साहसहित अन्य व्यक्तिहरूको नाम पनि उल्लेख गरेका छन्।

जेनजी युवाहरूले बुधबार दिनभर सामाजिक सञ्जाल प्लेटफर्म डिस्कर्डमा नेतृत्व चयनबारे छलफल गरेका थिए। छलफलमा कार्कीको पक्षमा बलियो समर्थन देखिएको थियो। केही युवाले काठमाडौं महानगरका मेयर बालेन साहलाई नेतृत्वमा प्रस्ताव गरे पनि उनी सम्पर्कमा नरहेको गुनासो व्यक्त भएको छ। मंगलबार बेलुकी बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताको तयारी गर्न आग्रह गरेका थिए।

बुधबार बिहान जेनजी प्रतिनिधिहरू वार्ताका लागि जंगीअड्डा पुगेका थिए। तर, १५ जनाभन्दा बढी प्रतिनिधि उपस्थित भएपछि प्रधानसेनापति अशोकराज सिग्देलले पहिले आपसी सहमति बनाएर संयोजकसहित आउन आग्रह गरेका थिए। त्यसपछि जंगीअड्डाकै एक कोठामा बैठक बसेको थियो।

बैठकमा गणतान्त्रिक व्यवस्थाविरुद्ध पनि केही प्रस्ताव उठेका थिए, जसका कारण रक्षा बमसहितको समूह बाहिरिएको थियो। तथापि, अन्तिममा कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति भएको जेनजी स्रोतले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours