२१ भाद्र, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको दोस्रो विधान महाधिवेशन अन्तर्गतको दोस्रो दिन । निर्धारित समयभन्दा एकघण्टा ढिलो महाधिवेशन सत्र सुरु भयो । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढिलो हुनुको कारण दर्शाउँदै महाधिवेशन अघि बढाए ।
यो महाधिवेशन ढिलो हुने प्रधानमन्त्रीले माफी माग्नुपर्ने घटना थियो एक जनताका नेताको जनभावनाविपरीतको कदम । अर्थात कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले हरिसिद्धिको उकालोमा एक बालिकालाई ठक्कर दियो ।
यो दुर्घटना थियो । दुर्घटनाकै रुपमा हेर्नुपर्छ भन्ने तर्क पनि एकातिर छ । अनि बिडम्बना पनि सँगै छ: के दुर्घटना भएको भए त्यस सवारीमा यात्रा गर्ने मानिसको विवेक कहाँ थियो ?
जनताको मुद्दा उठाउने र जनताका लागि काम गर्ने भनेरै जनताले इलाम क्षेत्र नम्बर २ (२)बाट जिताएका प्रदेश सांसद हुन राम राना । साधारण जीवनशैलीले चर्चामा आएका उनी अहिले कटोर र नैतिकता हराएको व्यक्तिका रुपमा चित्रित हुँदैछन् ।
स्वभाविक रुपमा पनि उनी सवार गाडीले बाटोमा ठक्कर दिएपछि गाडी रोकिनुपर्थ्यो । गाडीले ठक्कर दिएको जो कोही भएपनि सोधपुछ हुनुपर्थ्यो । अवस्था हेरेर अस्पताल पुर्याउनुपर्थ्यो । यी सबै मन्त्री राम रानाबाट हुन सकेन । भएन ।
त्यसैले अहिले उनको चर्चा सामाजिक सञ्जालमा फरक फरक रुपले भइरहेको छ । उनलाई विगतदेखि नै नजिकबाट चिनेकाले मान्छे त राम्रै हुन तर यहाँ किन विवेक गुमाए ? थाहै पाएका थिएनन् कि भनेर उनलाई बचाउ खालका प्रसंग उठाइरहेका छन् ।
सँगै अर्को पक्षले यत्रो दुर्घटना हुँदा पनि कसरी थाहा नपाउने भन्ने हुन्छ ? बाटोको सानो अवरोध हेरेर चालकले सवारी चलाउनुपर्छ । त्यसमा पनि यो दुर्घटनाको ब्रिफ्रिङ चालकले गरेको हुनुपर्ने र मन्त्री रानाले हतारमा ओर्लिएर गाडीले ठक्कर दिएकी बालिकाको अवस्था बुझेर सोही गाडीमा हालेर अस्पताल पुर्याउनुपर्ने हो । यत्ति विवेक भएको व्यक्ति होइन भने मन्त्री पद उनका लागि उपर्युक्त छैन भन्ने तर्क गर्नेहरु पनि छन् ।
पहिलो तर्कले उनलाई बचाउ गरे पनि दोस्रो तर्क र आम बुझाइमा यो मन्त्री रानाको ठूलो कमजोरी हो । यसले पद र शक्तिमा हुँदा जनतालाई जनतानै नसम्झने दम्भ पलाएको आभास भएको छ । यो समाचार तयार पार्दासम्म मन्त्रीले कही आफ्नो गल्ती स्वीकार गरी आत्मालोचनासहित माफी मागेका छैनन् । उनलाई अब विवेक पार्टीकै विधान अधिवेशनले सिकाउनुपर्नेछ ।
यो प्रश्न सत्तारुढ एमालेलाई पनि हो । कि पार्टी चलाउने विधान बनाउँदै गरेको एमालेले पार्टीभित्रका नेता कार्यकर्तालाई पनि विवेकशील बन्न, नैतिक जिम्मेवारी लिन र मानवीयता देखाउने आचरण पालन गर्ने व्यक्तिगत विधान पनि तयार पार्न जरुरी छ ।
कसरी भएको थियो दुर्घटना
शनिबार नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन हो । महाधिवेशनमा सहभागी हुन प्रतिनिधि महाधिवेशन स्थल गोदावारी जाने क्रम जारी थियो ।
महाधिवेशनस्थल जानेक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले हरिसिद्दिको उकालोमा ११ वर्षीया बालिकालाई ठक्कर दियो। ठक्करबाट बालिका घाइते भइन । गाडीको ठक्करले सडमै लडेकी बालिकालाई वास्तै नगरी मन्त्री सवार गाडी अघि बढ्यो ।
सडकमा यात्रारत स्थानीयले बालिकाको उद्धार गरे । उनको उपचार ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा भयो। साँझ बालिकाको उपचारपछि डिस्चार्ज भएको छ ।
बालिकालाई मन्त्री सवार गाडीले ठक्कर दिएपछि स्थानीयले सडक अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण एमालेको विधान महाधिवेशन एक घण्टा ढिलो भएको थियो ।
महाधिवेशनमा गएको गाडीले बालिकालाई ठक्कर दिएको घटना प्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको बताए । बालिकाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजिएको भन्दै आपत्ति पनि जनाएका थिए ।
उनले भने, ‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घट्नाप्रति दुःख व्यक्त गर्दछु । कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् । तर भइदियो । त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन बिलम्ब हुन गयो ।’
यो घटनाबाट हाम्रा नेतृत्वकर्ताले पाठ सिकुन । सत्ता र शक्तिमा हुँदा मानवीयता, नैतिकता, जिम्मेवारी बिर्सन हुँदैन ।


+ There are no comments
Add yours