इन्द्रजात्रामा भीआईपीहरूको लर्को, तस्बिरहरू

२१ भाद्र, काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। पर्वमा भाग लिन राष्ट्रपतिलगायत विशिष्ट व्यक्तित्वहरू वसन्तपुर पुगेका छन् ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा सुरु हुन्छ। यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गर्ने परम्परा छ।

इन्द्र ध्वजलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ, जसको फेदमा भैरवको पूजा गर्ने प्रचलन छ। यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा मनाइने गरिएको मानिन्छ।

पूर्वतयारीअन्तर्गत भक्तपुरको चितपोल जङ्गलमा भाद्र शुक्ल द्वितीयाका दिन तान्त्रिक विधिबाट पूजित बोकाले छोएको रूख काटेर ल्याइन्छ। त्यसलाई भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक लिङ्गो तयार पारिन्छ।

आजको मुख्य आकर्षणमा हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा रहनेछ। यो परम्परामा विगतमा राजाले स्वयं उपस्थित भएर दर्शन गर्ने चलन थियो, अहिले भने राष्ट्रपतिबाट अवलोकन गर्ने प्रथा कायम छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

You May Also Like

More From Author

+ There are no comments

Add yours