पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार

०२ भदाै, काठमाडाैं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत चिमखोलाबाट पाखापानी र पात्लेखेत गाउँमा केन्द्रीय लाइनको विद्युत् विस्तार भएको हो।

मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान सकिएपछि शनिबार गरिएको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए।

उपभोक्ताको घरघरमा मिटर जडान भएपछि विद्युतीकरणको काम सकिने जनाउँदै उनले पात्लेखेत र पाखापानीमा एक सय परिवार यसबाट लाभान्वित हुने उल्लेख गरे। चिमखोला, नामीला टोलमा यसअघि केन्द्रीय लाइन पुगिसकेको छ।

यहाँका बासिन्दाले हाल उज्यालोका लागि लघु जलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । ठेकेदार कम्पनी न्यू ढुङ्गाना निर्माण सेवाका सञ्चालक दिनेश ढुङ्गानाले बर्खायामको प्रतिकूल मौसम, सडक तथा यातायात अवरुद्ध भएको अवस्थामा पनि विद्युतीकरणको काम सम्पन्न गरिएको बताए।

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि रु २२ करोड बजेटको आयोजना सञ्चालन गर्दै आएको छ।

उक्त आयोजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, मालिका–२ रुम, मालिका–३ डाडागाउँ, पात्ले, मालिका–४ ओखरबोटका ६००, धवलागिरि गाउँपालिकाको मलम्पारका १५०, बुलका ४५ र चिउरीबोटका १३० घरमा विद्युतीकरण भइसकेको सूचना अधिकारी झाले जानकारी दिए।

धवलागिरि गाउँपालिकाको लुलाङमा विद्युत् लाइन पुगे पनि उपभोक्ताले मिटर बक्स जडान गर्न बाँकी रहेको उनले उल्लेख गरे।

‘धवलागिरिको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ। यो ठेक्कामार्फत धवलागिरि–१ को गुर्जाबाहेकका बस्तीहरूमा केन्द्रीय विद्युत् विस्तार भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीय स्थल मोहर डाँडामा पनि केन्द्रीय विद्युत् सुविधा पुर्‍याउने योजना छ’, उनले भने।

You May Also Like

More From Author

+ There are no comments

Add yours