०१ भदाै, काठमाडाैं । खोटाङमा डेङ्गु र स्क्रबटाइफस सङ्क्रमण बढ्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार गत साउनमा १२ जनामा डेङ्गु र १४ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ।
डेङ्गु र स्क्रबटाइफसका बिरामीमध्ये दुई-दुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ ‘रिफर’ गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईले बताए। उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
दश स्थानीय तह भएको जिल्लामा डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण दिनदिनै बढ्दै गएपछि जोखिम बढेको प्रमुख चौलागाईले बताए। जिल्लाका छ-छ महिला-पुरुषमा डेङ्गु र नौ पुरुष र पाँच महिलामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ।
डेङ्गु र स्क्रबटाइफसका केही बिरामी उपचारपछि घर फर्किएका छन् भने केही उपचाररत छन्, जिल्ला अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले बताए। ‘यो समयमा हरेक वर्ष डेङ्गु र स्क्रबटाइफसका सङ्क्रमित आउने गरेका छन्। जिल्ला अस्पतालमा जटिल बिरामीको उपचार गर्ने व्यवस्था छैन। यो सङ्क्रमणले रगत उत्पादन गर्ने ग्रन्थी ‘प्लेटलेट’मा असर गर्छ,’ उनले भने, ‘डेङ्गु र स्क्रबटाइफसका सङ्क्रमित मात्र नभई अन्य बिरामीको सङ्ख्या पनि यहाँ बढ्दै छ। दैनिक १५० देखि २०० बिरामी आउने गरेका छन्। अस्पतालमा उपकरण र शय्या अभावले उपचारमा समस्या भएको छ।’
जिल्लामा डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण बढेपछि लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान सञ्चालन गर्ने निर्णय भएको छ। स्वास्थ्य कार्यालयले आज दिक्तेलमा आयोजित सर्वपक्षीय भेलाले जिल्लाका दशवटै स्थानीय तह, सरकारी र गैरसरकारी कार्यालय, सार्वजनिकस्थलमा लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
डेङ्गु लामखुट्टेबाट सर्ने रोग भएकाले लामखुट्टेको लार्भा नष्ट गर्नु उत्तम उपाय भएको स्वास्थ्यकर्मीले बताएका छन्। डेङ्गुको सङ्क्रमण भएमा आँखाको भित्री भाग दुख्ने, वाकवाकी लाग्ने, मांसपेशी, हड्डी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, छाला रातो हुने र छालामा डाबर आउने लक्षण देखिन्छ।
डेङ्गु रोगको नियन्त्रणका लागि विशेष उपचार नभएकाले सचेत रहनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्। सङ्क्रमण भएमा प्रशस्त पानी र तरल पदार्थ पिउने, धेरै आराम गर्ने, ज्वरो नियन्त्रणका लागि सिटामोल प्रयोग गर्ने सुझाव छ।
स्क्रबटाइफसको सङ्क्रमणले टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा र शरीर दुख्ने जस्ता भाइरल ज्वरोसँग मिल्दा लक्षण देखिन्छ। माइटको टोकाइबाट सर्ने यो रोगको उपचारमा ढिलाइ भए जोखिम हुने स्वास्थ्यकर्मीले बताएका छन्।


+ There are no comments
Add yours