सेयर बजारका सबै सूचक बढे, कारोबार पनि बढ्यो

२२ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.३० अंक बढेको छ । सो वृद्धिसँगै २८५० मा कायम भएको छ ।

बजार खुलेपछि आज कुनै पनि समय रातो हुन पाएन । कारोबार क्रममा दिउँसो २ : ०४ बजे नेप्से परिसूचक २८६१ अंकसम्म पुगे पनि अन्तिम समयमा केही बिक्री चापले अंकलाई सामान्य प्रभाव पार्‍यो ।

१८७ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५३ करोडको भयो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.३८ प्रतिशत बढ्यो ।

बैंकिङ ०.४३, विकास बैंक ०.४२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.७५, लगानी ०.३०, जीवन बीमा ०.७६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.४२, अन्य १.०३ तथा व्यापार ०.९९ प्रतिशत बढे ।

आज सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.८१ प्रतिशत बढ्यो । त्यस्तै बरुण हाइड्रोपावरको ९.७८, मकर जितुमाया सुरी हाइड्रोपावरकमो ७.५६, खानीखोला हाइड्रोपावरको ६.१९, लिबर्टी इनर्जीको ५.७२, आईसीएफसी फाइनान्सको ४.४२ प्रतिशत बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरे ८.२६ प्रतिशत घट्यो । समाज लघुवित्तको ५.४२, सान्भी इनर्जीको २.७१ तथा मैलुङखोला जलविद्युतको २.६९ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४७ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours