२० साउन, काठमाडौं । रसुवामा गत असारमा आएको बाढीका कारण भएको क्षतिको दाबी ८५ करोड रुपैयाँ बराबर पुगेको छ ।
नेपाल बीमा प्रधिकरणका अनुसार आइतबारसम्म ७३ बढी आवेदनबाट उक्त रकम बराबर माग दाबी परेको हो ।
२३ असारमा आएको बाढीपहिरोका कारण भन्सार यार्ड, आयात गरिएका जाँचपास भएका र हुन बाँकी गाडी तथा समान सहित कन्टेनर बाढीले बगाएको थियो । साथै, ११ जनाको ज्यान गएको थियो भने १९ अझै बेपत्ता छन् । उक्त क्षतिका लागि हालसम्म ११ बीमा कम्पनीका बिमितले ८४ करोड ८४ लाख रुपैयाँ बराबर माग दाबी गरेका हुन् ।
दाबी भएको रकममध्ये सबैभन्दा धेरै दाबी सम्पत्ति बीमा लेखमा छ । उक्त बीमा लेख ५८ करोड १ लाख रुपैयाँ बराबर माग दाबी भएको प्रधिकरणले जनाएको छ । यो बीमा लेखमा दाबी संख्या भने ६ वटा मात्रै छन् ।
त्यसैगरी सामुद्रिक बीमा लेखमा १६ करोड २५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । उक्त बीमा लेखमा ९ जना बिमितले दाबी गरेका हुन् ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा लेख अन्तर्गत ४ वटा आवेदन मार्फत ५ करोड ४५ लाख रुपैयाँ बराबर माग दाबी परेको छ । त्यस्तै मोटर बीमा सार्वजनिक ४० र निजी १४ गरी कुल ५४ बिमितले ८४ करोड ८४ लाख रुपैयाँ बराबर माग दाबी गरेको प्राधिकरणले जनाएको छ ।


+ There are no comments
Add yours