युक्रेनसँगको युद्ध अन्त्य गर्न रूसलाई दिए ट्रम्पले १०/१२ दिनको अल्टिमेटम

१२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि जारी युद्ध अन्त्य गर्न रूसलाई १०/१२ दिनको नयाँ अल्टिमेटम दिएका छन् ।

यसअघि यसै महिना दिएको ५० दिनको समयसीमालाई छोट्याउँदै ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आफ्नो निराशा व्यक्त गरेका छन् ।

अलजजिराका अनुसार, स्कटल्यान्डमा युरोपेली नेताहरूसँगको भेटघाटसँगै गल्फ खेल्दै गरेका ट्रम्पले सोमबार पुटिनप्रति निराशा प्रकट गर्दै भने, ‘मैले आजदेखि करिब १० वा १२ दिनको नयाँ डेडलाइन तोक्ने निर्णय गरेको छु ।’

ब्रिटिश प्रधानमन्त्री कीर स्टारमरसँगको बैठकमा उनले पत्रकारहरूसँग भने, ‘पर्खनु पर्ने कुनै कारण छैन… हामी कुनै प्रगति भएको देखिरहेका छैनौं ।’

ट्रम्पको यो अल्टिमेटममाथि क्रेमलिनबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । ट्रम्पले बारम्बार युक्रेनमाथि रूसी आक्रमण जारी राखिएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । अमेरिकाले युद्ध अन्त्यका लागि प्रयास गरिरहँदा रूसको निरन्तर आक्रमणले उनलाई झन् झस्काएको छ ।

ट्रम्पले रूस र यहाँबाट सामान किन्ने देशहरूलाई प्रतिबन्ध लगाउने चेतावनीसमेत दिए पनि यसबारे कुनै निर्णय लिएका छैनन् ।

यसै जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किनुअघि ट्रम्पले युद्ध २४ घण्टाभित्र अन्त्य गरिदिने प्रतिबद्धता जनाएका थिए । उनले आफूलाई ‘शान्तिदूत’को रूपमा चित्रण गरेका थिए ।

‘पर्खनुको कुनै कारण छैन । जब तपाईंलाई उत्तर थाहा छ भने, किन पर्खने? त्यो प्रतिबन्ध र सायद भन्सार शुल्क, दोस्रो भन्सार शुल्क पनि हुन सक्छ,’ ट्रम्पले भने, ‘म रूसलाई त्यस्तो गर्न चाहन्न। म रूसी जनतालाई माया गर्छु ।’

तर युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीप्रति पनि असन्तुष्टि जनाउँदै आएका ट्रम्पले पुटिनमाथिको कठोर टिप्पणीपछि पनि सधैं कडा कदम चालेका छैनन् ।

उनले विगतमा पुटिनसँगको ‘राम्रो सम्बन्ध’ लाई यसको कारण बताउने गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours