३० असार, काठमाडौँ । काठमाडौंकी ४० वर्षीया एक महिला गत आइतबार वीर अस्पताल पुगिन्। बान्ता भएपछि परिवारले उनलाई उपचारका लागि वीर अस्पतालमा पुर्याएका थिए।
उनले रक्सी नपिउने भएकाले चिकित्सकले लिभर सिरोसिस (कलेजो कडा हुने वा बिग्रिने अवस्था) भएको शंका नै गरेनन्। थप खोजी हुँदै गयो। अरू रोग नदेखिएपछि कलेजोको जाँच गरियो। अन्ततः लिभर सिरोसिस नै भएको पत्ता लाग्यो।
हाल वीरकै आइसियुमा भर्ना भई उनको उपचार भइरहेको छ। उपचारमा संलग्न वीर अस्पताल कलेजो विभागका प्रमुख डा. सुधांशु केसीका अनुसार अत्यधिक मोटोपनाका कारण ती महिलालाई लिभर सिरोसिस भएको रहेछ।
मोटोपनाले सुरुमा कलेजोमा बोसो (फ्याटी लिभर) भएको, समयमै नियन्त्रण नगरिएका कारण लिभर सिरोसिस भएको डा. केसीले बताए।
रगत नै बान्ता हुन थालेपछि उनी अस्पताल पुगेकी हुन्। ‘अरू जाँच्दा केही देखिएन। कलेजोमा सिरोसिस भएको देखियो,’ डा. केसीले भने।
कलेजोमा बोसो जम्न थालेलगत्तै नियन्त्रणका लागि उपचार नभएकाले ती महिलाको कलेजो बिग्रिएको डा. केसीले बताए।
‘उनमा मोटोपना धेरै भएपछि कलेजोमा बोसो जमेको हो, त्यही बोसोले कलेजो खाइदियो,’ उनले भने।
फ्याटी लिभरका कारण अनेक समस्या हुने ती महिला एक्ली भने होइनन्। यस्ता महिला वीरमा सयौं आउने गरेको कलेजो रोग विभागले जनाएको छ।
विभाग प्रमुख डा. केसीको अनुसार नेपालमा कलेजोमा बोसो जम्मा हुने रोगले जनस्वास्थ्य क्षेत्रमा समस्याकै रूप लिइसकेको छ।
अस्पतालकै कलेजो रोग विशेषज्ञ तथा वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले नेपालमा यो समस्याले भित्रभित्रै प्रकोपको रूप लिइसकेको बताए।
‘फ्याटी लिभर भित्रभित्रै घरघरमा फैलिएको छ,’ उनले भने। यो समस्या नेपालमा २० देखि ४० वर्षभित्रको उमेर समूहमा बढी देखिन्छ।
पछिल्लो समय यो समस्या युवाहरूमा झनै बढ्दै गएको छ। नेपालका हकमा तीन दशकयता फ्याटी लिभरको समस्या बढ्दै गएको निर्देशक शर्माले बताए।
उनका अनुसार नेपाल तथा दक्षिण एसियामा भयावह बनिसकेको छ। तथ्यांकअनुसार हरेक तीन व्यक्तिमध्ये एक जनामा कलेजोमा बोसोको समस्या छ।
यसको अर्थ सयमा ३० प्रतिशत हाराहारीमा यो समस्या हुनु हो। विश्वमा कुल जनसंख्याको ५ देखि १० प्रतिशत जनसंख्यामा यो समस्या देखिएको अन्तर्राष्ट्रिय तथ्यांक छ।
मोटोपना भएका मानिसमध्ये ५० देखि ७० प्रतिशतमा फ्याटी लिभरको समस्या हुने गर्छ। यो समस्या नेपालसहित विश्वमै जनस्वास्थ्य समस्याका रूपमा देखिएपछि यसै वर्ष हुने संयुक्त राष्ट्रसंघीय सभामा विभिन्न देशका कलेजो रोगका संस्थाहरू मिलेर प्रतिवेदन प्रस्ताव राख्ने तयारी भएको डा. केसीले बताए।
‘नेपालका तर्फबाट प्रतिवेदन पठाइसकेका छौं,’ नेपाल लिभर सोसाइटीका तर्फबाट जानकारी दिँदै उनले भने। यो प्रस्तावित प्रतिवेदनको उद्देश्य विश्व स्वास्थ्य संगठनमा समस्याबारे दिई संगठनको आगामी नीति तथा कार्यक्रममै अन्य नसर्ने रोगसरह समावेश गर्ने उद्देश्य रहेको केसीले बताए।
के हो फ्याटी लिभर ?
मानिसले खाएका खानेकुरामध्ये चिल्लो पदार्थको मात्रा आवश्यकताभन्दा बढी भई कलोजोमा थुप्रिने अवस्थालाई फ्याटी लिभर अर्थात् कलेजोको रोग भनिन्छ।
बोसो जम्मा हुने अवस्थाको समयमै रोकथाम नभए बढ्दै गएर कलेजोको नियमित काम गर्ने क्षमता नष्ट हुँदै जान्छ। यसलाई नै लिभर सिरोसिस भनिन्छ।
सुरुमा लक्षण नदेखिने तर भित्रभित्रै हरेक व्यक्तिमा यो समस्या हुन सक्ने भएकाले फ्याटी लिभरको पहिचान समयमै हुँदैन। भइहाले पनि स्वास्थ्यकर्मी र बिरामी स्वयंले गर्ने बेवास्ताका कारण कलेजो बिग्रिएपछि मात्र उपचारमा पुग्ने स्थिति छ। डा. केसीका अनुसार सुरुमा अन्य रोगका लागि या नियमित स्वास्थ्य जाँच गर्ने क्रममा भिडियो एक्सरेमा फ्याटी लिभर देखिन्छ।
सुरुकै अवस्थामा बोसो देखिएको अवस्थालाई रेडियोलोजिस्ट र बिरामी दुवै पक्षले बेवास्ता गर्दा समयमै यसको उपचार या व्यवस्थापन हुन पाउँदैन। ‘भिडियो एक्सरे गर्नेले कलेजोमा बोसो सबैको हुन्छ भनिदिन्छन्, बिरामीले पनि त्यसलाई सामान्य रूपमा लिन्छन्,’ डा. केसीले भने।
उपचारमा संलग्न अन्य विशेषज्ञले पनि यो समस्यालाई सामान्य भनिदिएका कारण बिरामी सजग नभएको देखिन्छ। बिरामी मात्र नभई चिकित्सकमा समेत फ्याटी लिभरसम्बन्धी जनचेतनाको कमीले यो समस्या समयमै नियन्त्रण हुँदैन।
कलेजो बिग्रिएपछि लिभर सिरोसिस या कलेजोको क्यान्सरसमेत हुन्छ। यो चरणमा पुगेपछि औषधिले मात्र निको हुँदैन। लिभर सिरोसिस भएपछि कलेजो प्रत्यारोपण नै गर्नुपर्छ।
कलेजोको क्यान्सरले जटिल रूप लिएपछि उपचारले पनि निको नहुने अवस्था आउँछ। फ्याटी लिभरका कारण शरीरमा अन्य रोगहरू पनि उत्पन्न हुने डा. शर्मा बताउँछन्।
फ्याटी लिभर भएका मानिसमा मधुमेह, उच्च रक्तचाप र मुटुजन्य रोग पनि लाग्छन्। यी समस्या भएकामा फ्याटी लिभर पनि हुन्छ। फ्याटी लिभर दुई प्रकारका हुन्छन् । रक्सीजन्य फ्याटी लिभर र गैररक्सीजन्य फ्याटी लिभर।
चिकित्सकका अनुसार रक्सीजन्य फ्याटी लिभरको तुलनामा रक्सी नपिउनेमा फ्याटी लिभर वृद्धि भइरहेको देखिन्छ। गलत जीवनशैलीका कारण यो समस्या विगत तीन दशकयता नेपालमा बढ्दै गएको हो । गलत खानपान र आरामदायी जीवनशैली यो रोगको मुख्य कारण हो।
डा. शर्मा भन्छन्, ‘जंकफुड, भुटेकोतारेको खाना खाने, कार्बोहाइडे«टजन्य खानाको प्रयोग, बढी चिल्लो र गुलियो खाने र शारीरिक व्यायाम नगर्ने, यस्ता खानेकुरा खाएपछि बसिरहने जीवनशैलीले पनि समस्या बढेको हो।’
यो समस्याले सुरुमा कुनै लक्षण नदेखाउने तर बिग्रिँदै गएपछि थकाइ लाग्ने, रगत बान्ता हुने, पेटको दाहिने भाग दुख्ने, लिभर बिग्रिन थालेपछि बिरामी थाकेजस्तो हुने, जन्डिस हुने, कलेजो दुख्ने, पेटमा पानी जम्ने जस्ता लक्षण देखिन्छ।
कसरी बच्ने ?
फ्याटी लिभर भइसकेपछि उपचार हुन सहज छैन। फ्याटी लिभरले कलेजो बिग्रियो भने कलेजो कडा बन्ने चरणमा पुग्छ। यो स्थितिमा आइसकेपछि औषधीले निको नहुने भएकाले फ्याटी लिभर आउनै नदिने गरी जीवनशैलीमा सुधार गर्ने र भइहाले सुरुमै पहिचान गरी जीवनशैलीमा परिवर्तन गरे नियन्त्रण गर्न सकिने चिकित्सकहरू बताउँछन्।
नियमित सन्तुलित भोजनको प्रयोग गर्ने, सागपात, फलफूल, सलाद समावेश गर्ने र कम तेल प्रयोग भएका खानेकुरा खाने तर तारेको, भुटेको, गुलियो खानेकुरा, जंकफुड, कार्बोहाइड्रेट, रातो मासु, मदिरा, मिठाई, घिउ समावेश नगर्ने या अत्यन्त न्यून समावेश गर्ने, खाना खाएपछि सुत्ने र आराम गर्ने बानी त्याग्नुपर्ने सुझाव उनीहरूले दिने गरेका छन्।
नियमित रूपमा शारीरिक व्यायाम गरे कलेजोमा बोसो जम्मा हुनबाट या थप बढ्नबाट बच्न सकिन्छ।


+ There are no comments
Add yours