२९ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको अनुदानित रासायनिक मल आपूर्तिको लक्ष्य बराबरको टेन्डर सम्पन्न भएको छ । मन्त्रालयका अनुसार कुल ५ लाख ५० हजार मेट्रिक टन मल आपूर्तिको वार्षिक लक्ष्य रहेको थियो । सो लक्ष्यसहित २७ अर्ब ९५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । हालसम्म सो परिमाणमा मल टेण्डर पूरा भइसकेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३० हजार मेट्रिक टन युरिया मल कोलकोत्ता आइसकेको र नेपाल आयात हुनेक्रममा रहेको छ भने २२ हजार मेट्रिक टन युरिया हाल स्रोत मुलुकबाट लोडिङ भई कोलकोत्ता आउनेक्रममा रहेको छ । साथै, ३० हजार मेट्रिक टन डिएपी पनि असार २५ सम्म कोलकोत्तामा आइपुग्ने र ३० हजार मेट्रिक टन डीएपी स्रोत मुलुकबाट सिपमेन्ट भई कोलकोत्ता आउने क्रममा रहेको छ ।
हालसम्म युरिया २ लाख ४५ हजार ३३६ मेट्रिक टन, डीएपी १ लाख २१ हजार २७९ मेट्रिक टन र पोटास १५ हजार २६५ मेट्रिक टन गरी जम्मा ३ लाख ८१ हजार ८८१ मेट्रिक टन रासायनिक मल आपूर्ती भएको मन्त्रालयले जनाएको छ । जसमा सबैभन्दा बढी यूरिया मल आपूर्ति भएको हो ।
गत आर्थिक वर्षको बाँकी मौज्दातसहित हाल नेपालमा ९४ हजार ४९ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । युरिया ६५ हजार ५५७, डिएपी १८ हजार ६३८ र पोटास ७ हजार ८५३ मेट्रिक टन मौज्दात रहेको छ ।
त्यसैगरी, गत आवको मौज्दातसहित गरेर हालसम्म ४ लाख २६ हजार ८ मेट्रिक टन मल बिक्री गरिएको छ । युरिया २ लाख ५८ हजार ७७३, डिएपी १ लाख ५१ हजार ५७ र पोटास १६ हजार १७७ मेट्रिक टन बिक्री भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
यसैबिच, असार २४ गते एकै दिन कृषि सामाग्री कम्पनी लिमिटेडको ३८ हजार २२ बोरा र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको १८ हजार १४ बोरा गरी जम्मा ५६ हजार ३६ बोरा मल बिक्री भएको तथ्यांक सार्वजनिक गरिएको छ ।


+ There are no comments
Add yours