२३ असार, काठमाडौं ।नेपालकै सबैभन्दा ठूलो टी-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आउँदो असोजमा हुने भएको छ ।
डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी मैदानमा प्रतियोगिता आयोजना हुनेछ।
प्रतियोगिताको ब्रान्ड एमबासडरको रूपमा नायक निखिल उप्रेती छन् । क्रिकेट प्रतियोगिताको ब्रान्ढ एमबासडर बन्न पाउँदा खुसी लागेको कलाकार उप्रेतीले बताए ।
प्रतियोगितामा ७ वटा टिम सहभागी हुनेछन् भने कुल २२ खेल खेलिनेछ। सिंगल राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा सबै टिमले एक–आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष ४ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन टिम खरिद गर्नुपर्ने छ भने खेलाडीको अक्सन प्रक्रिया पनि हुनेछ। विजेता टिमले २९ लाख रुपैयाँ तथा उपविजेता टिमले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
‘स्ट्रीटदेखि स्टेडियमसम्म’ भन्ने नाराका साथ एनएसपीएलले देशभरका उदीयमान क्रिकेटरहरूलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन प्लेटफर्म दिने उद्देश्य राखेको छ।
आयोजकले ग्रासरुट क्रिकेटलाई प्रवर्द्धन गर्दै समावेशी र दिगो संरचना निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिएको छ।


+ There are no comments
Add yours