१९ असार, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडिसी) बाट स्तरोन्नतिपछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणहरूका लागि विश्व समुदायसँग आग्रह गर्नुभएको छ । स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित ‘सशक्तीकरणका लागि लचिलोपनः दिगो एलडिसी स्तरोन्नतिका लागि जलवायु–स्मार्ट वित्तीयकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
महासंघ अध्यक्ष ढकालले नेपाल अतिकम विकसित देशबाट स्तरोन्नतिपछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणहरूका लागि विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।
अध्यक्ष ढकालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने विषय नेपालका लागि उपलब्धिसँगै चुनौतीपूर्ण रहेको पनि बताउनुभयो । उहाँले नेपालको एलडिसी स्तरोन्नतिका लागि तीन मापदण्डमध्ये दुर्ई पूरा भए पनि प्रतिव्यक्ति आयस्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो । ढकालले भन्नुभयो, ‘नेपालमा धेरै अवसरहरू छन् । देशको ४० हजार मेगावाटभन्दा बढीको जलविद्युत् सम्भावना छ । विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यका रूपमा नेपाल परिचित छ । डिजिटल तथा सूचना प्रविधि सेवाहरूमा युवाहरूको सहभागिता बढ्दो छ तर यो सम्भावनालाई वास्तविकतामा परिणत गर्न बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकता छ ।’
नेपालको वित्तीय आवश्यकता ठूलो र बढ्दो क्रममा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘सरकारको राष्ट्रिय अनुकूलन योजनाले सन् २०५० सम्म जलवायु अनुकूलनका लागि करिब ४७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ, जुन वार्षिक रूपमा लगभग १.३ अर्ब डलर हो । साथै, दिगो विकास लक्ष्यहरू प्राप्त गर्न नेपालले प्रत्येक वर्ष जिडिपीको करिब ११ प्रतिशतको वित्तीय अन्तरको सामना गरिरहेको छ ।’
उहाँले नेपालको कर राजस्व कुल गार्हस्थ्य उत्पादनको (जिडिपी) को २० प्रतिशतबाट १६ प्रतिशतमा झरेको तथा हरित र दिगो क्षेत्रमा निजी क्षेत्रको लगानी अझै प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै नेपालका लागि विकास साझेदार, क्षेत्रीय समकक्षी र दीर्घकालीन लगानीकर्ताको सहयोग आवश्यक रहेको बताउनुभयो ।
तथापि अध्यक्ष ढकालले उल्लेखित चुनौतीका बाबजुद पनि नेपालमा थुप्रै सकारात्मक प्रगतिहरू भएको बताउनुभयो । उहाँले महासंघको पहलमा नेपाल सरकारले देशको व्यापार र लगानी वातावरण सुधार गर्न ३० भन्दा बढी कानुन संशोधन गरेको, द्विपक्षीय लगानी सम्झौताको ढाँचा पनि अनुमोदन गरिएको जानकारी दिँदै त्यसले लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभयो ।
एलडिसी स्तरोन्नतिले अन्तर्राष्ट्रिय समर्थनको अन्त्य नभई नयाँ प्रकारको साझेदारीको सुरुवात हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले नेपालजस्ता देशहरूलाई आर्थिक लचिलोपन निर्माण गर्न, स्वच्छ ऊर्जामा लगानी गर्न तथा जलवायु परिवर्तनले निम्त्याउने जोखिम कम गर्ने दिशामा सहयोग गर्न विश्व समुदायलाई आग्रह गर्नुभयो ।
उहाँले त्यसका लागि आवश्यक सहयोग र सहकार्यका लागि नेपालको निजी क्षेत्रको छाता संस्थातर्फबाट आफूहरू तयार रहेको समेत बताउनुभयो । कार्यक्रममा विश्वभरका नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका नेताहरू र विशेषज्ञसँग एलडिसीहरूमा जलवायु लचिलोपन र दिगो विकासका लागि वित्तीय चुनौती र अवसरहरूबारे छलफल भएको थियो ।


+ There are no comments
Add yours