२९ जेठ, काठमाडौं । गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलबार मनाइएको छ ।
गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा ४ संगीतकर्मीलाई नगदसहित सम्मान प्रदान गरियो । नगद १ लाख १ रुपैयाँसहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मान गरियो ।
गायिका राणा कार्यक्रममा सहभागी हुन नसकेपछि सो सम्मान उनको भाई विजेन्द्र मिश्रलाई प्रदान गरिएको थियो । प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मानबाट वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपैयाँसहित पुरस्कृत गरियो ।
प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरियो । प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान सिन्धुपाल्चोकका गायक चन्द्रसिंह घलेलाई नगद २५ हजार रुपैयाँसहित प्रदान गरियो ।
प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानकी पत्नी किरण प्रधान, प्रमुख अतिथि चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, नगरपालिकाकी उपप्रमुख सीता थापा, गीतकार तथा कवि दिनेशहरि अधिकारी, गायिका तीर्थ थापाले प्रदान गरे ।
प्रतिष्ठानकी कोषाध्यक्ष तथा प्रेमध्वजकी भाञ्जी भुवन मास्केले चौतारावासीको तर्पmबाट गरिएको सम्मान ग्रहण गरेकै हलमा आएर कार्यक्रम गरिएको जनाउँदै खुसी व्यक्त गरिन् ।
गीतकार अधिकारीले प्रेमध्वजको व्यक्तिगत तथा सांगीतिक जीवनबारे चर्चा गर्दै प्रधान व्यक्तिको रुपमा पनि निकै सरल र असल स्वभावको रहेको बताए । उनले सिन्धुपाल्चोकका विद्यार्थी प्रेमध्वजको बारेमा विद्यावारिधी गर्नुपर्ने चर्चा गर्दै चौताराको कुनै स्थल प्रेमध्वजको नाममा नामाकरण गर्न, प्रेमध्वजको नाममा छात्रवृत्ती र पुरस्कार स्थापना गर्नसमेत स्थानिय सरकारलाई आग्रह गरे ।
नगर प्रमुख सापकोटाले प्रेमध्वज राष्ट्रिय विभूतिका साथै सिन्धुका नीधि भएको चर्चा गर्दै उनको नाममा चोक, चौतारा निर्माण गर्न वा उनको योगदानको कदर गर्न कन्जुस्याई नगर्ने बताए ।
कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिंह घले र रोशन श्रेष्ठले प्रेमध्वजका गीत प्रस्तुत गरेका थिए । स्थानिय वनदेवी माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए ।
गायक प्रधानको २०७८ सालमा निधन भएको थियो । प्रधानको नाममा उनको परिवारले २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृती प्रतिष्ठानको स्थापना गरेको हो । जसले प्रेमध्वजको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम संगीतमा साधनारत संगीतकर्मीलाई सम्मान गर्दै आएको छ ।


+ There are no comments
Add yours