२८ जेठ, एजेन्सी । यो प्रकृति निकै सुन्दर छ। तर, यहीँ प्रकृतिमा केही यस्ता खतरनाक र विषालु जीवहरू पनि बस्दछन्, जुन देख्दा त साना र निर्दोष भएपनि तिनलाई छुँदा मात्रै पनि मृत्युको मुखमा पूराउँछन्। ती जिवको विषमा यस्तो शक्ति हुन्छ, जसले मानव शरीरको सम्पूर्ण स्नायुतन्त्रलाई केही मिनेटमै निस्तेज गरिदिन सक्छ। पृथ्वीका सबैभन्दा विषालु ५ जीव यस्ता छन् :
१. कोन शंखेकिरा-सुन्दर खोलभित्र लुकेको प्राणघातक जीव
यो शंखेकिरा देख्नमा अत्यन्तै सुन्दर लाग्छ तर यसको शरीरमा रहेको विषले केही सेकेन्डमै मानिसलाई प्यारालाइज्ड गराउन सक्छ। समुद्री पानीमा बस्ने यो जीवले आफ्नो विषालु दाँतले सिकारलाई समाउँछ । यो जीवले मानिसमाथि आक्रमण गर्ने घटना दुर्लभ भए पनि, यदि दुर्भाग्यवस यसको आक्रमणमा परियो भने बँच्ने कुनै औषधि छैन, छ त केवल आशा मात्रै ।
२. ब्लू-रिङ्ड अक्टोपस- निलो घेराले ढाकेको शान्त मृत्यु

आकारमा एउटा गल्फ बल जत्तिकै सानो यो जीव यतिधेरै विषालु हुन्छ कि यसले दर्जनौं मानिसको ज्यान लिन सक्छ। अष्ट्रेलिया र जापानका तटीय समुद्री पानीमा पाइने यसले टेट्रोडोटक्सिन नामक विष निकाल्छ जसले शरीरलाई क्रमशः प्यारालाइज गर्दै श्वास-प्रश्वास नै बन्द गरिदिन्छ । यसको सबैभन्दा डरलग्दो पक्ष के छ भने जब यसले टोक्छ त्यसबेला कुनै पीडा महसुस हुँदैन । तर, जतिबेला यसको टोकाइ महसुस हुनथाल्छ, त्यतिबेला धेरै ढिलो भइसकेको हुन्छ ।
३. पोइजन डार्ट फ्रग-जति रंगीन, उति नै विषालु

मध्य र दक्षिण अमेरिकी उष्ण जंगलहरूमा पाइने यी साना रङ्गीचङ्गी भ्यागुताहरू देख्नमा खेलौनाजस्ता लाग्छन् । तर, तिनीहरूको छालामा ब्याट्राकोटोक्सिन नामक विष लुकेको हुन्छ ।
यो विश्वको सबैभन्दा शक्तिशाली प्राकृतिक विष हो । प्राचीन समयमा आदिवासीहरूले यही भ्यागुताको विष प्रयोग गरेर आफ्ना वाणहरुलाई घातक बनाउँथे । यी साना भ्यागुता देख्दा निर्दोष र मायालाु जस्ता लागे पनि, यिनीहरुसँगको स्पर्शले ज्यान नै जान सक्छ ।
४. इनल्यान्ड टाइपेन-संसारकै सबैभन्दा विषालु सर्प !

यसलाई फियर्स स्नेक पनि भनिन्छ। यसको एउटा डसाईमा निस्कने विष सयभन्दा बढी मानिसको मृत्यु गराउन पर्याप्त हुन्छ। अष्ट्रेलियाका मरुभूमिमा पाइने यो सर्प सामान्यतया मानिसदेखि टाढा रहन्छ, तर यदि कसैले यसलाई जिस्कायो भने डस्नसक्छ । यो सर्पले डसेपछि यसको विषबाट मानिसको केही समयमै मृत्यु निश्चित हुन्छ ।
५. बक्स जेलीफिश- समुद्रमा तैरिरहेको काल

यो पारदर्शी जीव अष्ट्रेलिया र हिन्द प्रशान्तका तटीय क्षेत्रमा पाइन्छ । यसको पातलो तर लामो आकारका टेन्टाकलहरूमा यस्तो शक्तिशाली विष हुन्छ, जसले केही मिनेटमै मानिसको मुटु नै बन्द गराउन सक्छ । यसको विषको पीडा अत्यन्तै कष्टदायक हुन्छ र मृत्यु निकै तीव्र । सबैभन्दा डरलाग्दो कुरा त यो जीव झ्वाट्ट हेर्दा देखिंदैन, त्यसैले यसको आक्रमणमा पर्ने जोखिम उच्च हुन्छ ।
+ There are no comments
Add yours