२६ जेठ, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लास्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ ।
कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा करिब १५० केजी प्लास्टिक फोहोर संकलन गरिएको थियो ।
साथै, हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समेत राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
फोहोर संकलनपछि उक्त फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयम् सेवकहरूको सहभागिता रहेको थियो ।
ग्लोबल आईएमई बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवर्द्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा विशेष योगदान दिँदै आएको छ ।
विश्व वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर वृहत् वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले देशभरि १८ हजार वृक्षारोपण गर्ने लक्ष्यसहित विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिरहेको छ ।


+ There are no comments
Add yours