ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

२० जेठ, काठमाडौँ । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई ध्यानमा राख्दै, रोल्पा जिल्लास्थित घर्तिगाउँ हेल्थ पोस्टमा नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । बैंकले रोल्पा जिल्लाको घर्तिगाउँ लगायत, स्याङ्जा जिल्लाको अर्जुनचौपारी र गुल्मी जिल्लाको पुर्तिघाटस्थित हेल्थ पोस्टमा सो उपकरण प्रदान गरेको हो ।

दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका स्थानमा पनि बेबी वार्मर प्रदान गरेको हो ।

ज्योति विकास बैंकको पहलमा रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं. २ स्थित घर्तिगाउँ हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ । यसका अतिरिक्त, बैंकले गुल्मी जिल्लाको पुर्तिघाट हेल्थ पोस्टमा र स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं. २ स्थित अर्जुनचौपारी हेल्थ पोस्टमा पनि बेबी वार्मर जडान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत यी ३ वटा बेबी वार्मर सहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ । यी उपकरणहरु मार्फत हरेक वर्ष करिब २ हजार २९४ भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।

विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै बैंकले उक्त मेसिन प्रदान गर्दै आएको छ। साथै हालसम्मको योगदानले करिब ११ हजार ४७० भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएका छन्। यस्ता जीवन रक्षण गर्ने अत्युत्तम क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours