बिहीबार रत्नपार्क भागबन्डा : एमालेलाई २ बजेसम्म, त्यसपछि राजावादीलाई

१५ जेठ, काठमाडौँ । एमाले र राजावादीहरूको कार्यक्रम एकै समयमा परेपछि स्थानीय प्रशासनले समय विभाजन गरेको छ।

बिहीबार दुवै समूहले रत्नपार्कमा प्रदर्शन गर्ने जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले एमालेलाई बिहान साढे १० देखी २ बजेसम्म र त्यसपछिको समय राजावादीहरूको कार्यक्रमको लागि छुट्टाएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी अशोक कुमार भण्डारीले उकेरालाई जानकारी दिए।

राप्रपा, राप्रपा नेपालसहितको समूहले बिहीबार राजतन्त्रको पत्रमा विरोध प्रदर्शन गर्दैछन्। एमालेले गणतन्त्र दिवसका दिन रत्नपार्क क्षेत्रमा सांस्कृतिक झाँकी प्रदर्शन गर्दैछ।

‘हामीलाई एमालेले हिजो कार्यक्रमको जानकारी दिएको थियो। ट्राफिक व्यवस्थापन, सुरक्षा प्रबन्धको मिलाइदिन आग्रह गर्नुभएको थियो। त्यसपछि हामीले दुवै समूहसँग छलफल गरेर एमालेलाई साढे १० देखी २ बजेसम्म र त्यसपछि राजावादीको विरोधको समय दिएका छौँ’ उनले भने।

दुवै समूह सकारात्मक हुनुहुन्छ भन्ने उकेराको प्रश्नमा भण्डारीले सकारात्मक रहेको भए पनि सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिए।

‘दुवै समूह सकारात्मक नै हुनुहुन्छ। एमालेले चिठ्ठी पठाएर नै बिहानको समय माग गरेको थियो। राजावादीको आयोजकमध्ये राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कुराकानी गर्दा दिउसोको समयमा मौखिक जवाफ दिनुभएको छ। तर पनि सुरक्षा हाइ अलर्ट गरेको छौँ’ उनले भने।

जेठ १५ गणतन्त्र दिवसको दिन टुँडिखेलमा विशेष समारोह समेत आयोजना गरिएको छ। जेठ १५ मै संसद्मा बजेट समेत छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours