३० वैशाख, काठमाडाैं । सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग १४ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
सोमबार राति रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको राजमार्ग मंगलबार दिउँसोबाट सञ्चालनमा आएको हो ।
बाढीले सबैभन्दा बढी क्षति पुर्याएको माम्तीको डाइभर्सनमा मर्मत सकिएसँग सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।
असोज महिनामा आएको बाढीले बिपी राजमार्गको रोशी खोला क्षेत्रमा ठुलो क्षति पुगेको थियो ।
सडक अवरुद्ध हुँदा बिपी राजमार्ग हुँदै काठमाण्डुबाट पूर्व जाने सवारी साधनहरू रोकिएका थिए । ‘पहिला नै बनाएको पुरानो डाइभर्सन बगाएको हो, त्यहाँ हामीले नयाँ काम गर्न बाँकी थियो, पुराना ठाउँ नै बगाएको हो, अब एक हप्ता भित्र सो ठाउँमा नयाँ डाइभर्सन बन्छ, वर्षामा पनि सडक चल्छ’, योगेशले भने ।
बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।


+ There are no comments
Add yours