भारतीय स्टार्टअप एयराटिक्सको नेपाल आगमन, डिजिटल माध्यमबाट स्मार्ट स्टोरेज सेवा सुरु

१६ वैशाख, काठमाडौं । भारतको अग्रणी स्मार्ट स्टोरेज मार्केटप्लेस ‘एयराटिक्स’ले नेपालमा औपचारिक रुपमा आफ्नो सेवा सुरु गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रम मार्फत एयराटिक्सले नेपाली बजारमा आफ्नो प्रविधिमैत्री भण्डारण तथा लजिस्टिक सेवा सुरु गरेको घोषणा गरेको हो ।

यससँगै नेपाली प्रयोगकर्ताले घरमै बसेर अस्थायी सामान भण्डारण, पुनस्र्थापन, डेलिभरी र अन्य लजिस्टिक सेवा डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा पाउन सक्नेछन् । एयराटिक्सले विशेषगरी व्यवसायी र यात्रुहरूलाई लक्षित गर्दै नेपालमा बढ्दो भण्डारणको समस्यालाई समाधान गर्ने उद्देश्य राखेको छ ।

कम्पनीका संस्थापक आदित्य कालेका अनुसार अब नेपालमा पनि सामान भण्डारण, लगेज स्टोरेज, अर्डर फुलफिलमेन्ट, पुनस्र्थापनजस्ता सेवाहरू सुविधाजनक र ग्राहकमैत्री रूपमा उपलब्ध हुनेछ । पेशाले इन्जिनियर रहेका कालेसँग १२ वर्षभन्दा बढीको लजिस्टिक्स र आपूर्ति सेवा अनुभव छ ।

भारतमा व्यवसायदेखि ग्राहक (बीटुसी) र व्यवसायदेखि व्यवसाय (बीटुबी) दुवै मोडलमा सफल भइसकेपछि एयराटिक्सले नेपाली बजारमा पाइला टेकेको हो । काठमाडौंपछि पोखरा र वीरगञ्जजस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षण ‘फ्रम आइडिया टु एग्जिक्युसन – वाट मेक्स अ स्टार्टअप स्ट्यान्ड आउट ?’ विषयक प्यानल छलफल रहेको थियो । छलफलमा उपाय सिटी कार्गोका संस्थापक समुन रायमाझी, दराज नेपालका प्रमुख लजिस्टिक्स अफिसर सन्तोष विष्ट, मेरो स्टोरेजका संस्थापक समय अधिकारी तथा एयराटिक्सका संस्थापक आदित्य काले सहभागी थिए। कार्यक्रमको सञ्चालन ८८ कलेक्टिभका संस्थापक प्रज्वल अयालाले गरेका थिए ।

छलफलमा रायमाझीले सुरुका दिनमा लजिस्टिक सेवाप्रति जनचेतना न्यून भएको तर अहिले मानिसहरू वेयरहाउस र लजिस्टिक सेवा प्रति सचेत हुन थालेको बताए ।

एयराटिक्सको नेपाल आगमनले यहाँका उपभोक्ता र घरधनीहरूका लागि नयाँ आर्थिक अवसर र गुणस्तरीय सेवाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours