२२ चैत, काठमाडौँ । नेपालको प्रसिद्ध र प्रतिष्ठित रक ब्यान्ड, १९७५ एडी, ले आफ्नो अन्तिम कन्सर्ट ‘रक यात्रा २’ को आयोजना गर्दैछ । ३ दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा उत्कृष्ट योगदान पुर्याइरहेको यो ब्यान्डले आगामी चैत २३ गते शनिबार, हैयात ग्राउण्ड, बौद्धमा हजारौँ दर्शक तथा कलाकारहरू माझ अन्तिम यात्राको प्रस्तुति दिँदैछ ।
नेपाली संगीतप्रेमीहरूको लागि यो कन्सर्ट एक ऐतिहासिक र अविस्मरणीय अनुभव हुने निश्चित छ । जहाँ परेलीमा, चौबन्दी चोली, र यो मन त मेरो नेपाली हो जस्ता ब्यान्डका चर्चित गीतहरु लाइभ प्रस्तुत गरिने ब्यान्डले जनाएको छ ।
ब्यान्डले सन् २००२ मा काठमाडौंमा गरेको कन्सर्ट रक यात्रामा करिब ६० हजार दर्शकको उपस्थिति थियो भने सो कन्सर्ट अहिलेसम्म नेपालको इतिहासकै सबैभन्दा ठूलो कन्सर्ट मानिन्छ । लगभग २३ वर्ष पछि हुन लागेको ‘रक यात्रा २’ मा पनि दर्शकहरुको उति नै उपस्थिति र उत्साहको अनुमान गरिएको छ ।
१९९० मा गठन ब्यान्ड स्थापनाकालदेखि ३ दशकसम्म आइपुग्दा सदाबहार गीतहरूको माध्यमबाट नेपालका विभिन्न पिढ़ीका संगीतप्रेमीहरूको मन जित्न सफल छ ।
नेपाली गीत संगीतलाई नयाँ आयाम दिन प्रभावकारी भूमिका खेलेको नेपालको अग्रज ब्यान्ड १९७५ एडी को नेपालमा अन्तिम कन्सर्ट भएकाले पनि यस कन्सर्ट नेपाली संगीतप्रेमीहरूका लागि विशेष र अविष्मरणीयका साथै भावनात्मक पनि हुनेछ ।
यो कन्सर्टमा हजारौँ दर्शकहरूसँगै थुप्रै कलाकार तथा हस्तीहरूको पनि उपस्थिति अनुमान गरिएको छ भने यस कार्यक्रमको टिकट ई सेवामा उपलब्ध रहेको ब्यान्डले जनाएको छ ।
+ There are no comments
Add yours