कर्णालीका १८० परीक्षा केन्द्रबाट ३७ हजार बढी विद्यार्थी एसईई दिँदै

२१ फागुन, काठमाडौं । कर्णाली प्रदेशमाबाट यस वर्ष ३७ हजार विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुनेछन्। आगामी ७ चैतबाट सुरु हुने परीक्षामा कर्णाली प्रदेशभरबाट ३७ हजार नौ सय ११ विद्यार्थी सहभागी हुने सामाजिक विकास मन्त्रालयको शिक्षा विकास निर्देशनालयले जनाएको छ।

परीक्षा दिनेमा नियमिततर्फ ३१ हजार ८०४, ग्रेडवृद्धितर्फ ६ हजार १०७ र प्राविधिकतर्फ एक हजार ३४२ विद्यार्थी छन्।

निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार कर्णालीमा एसईई दिने विद्यार्थीको संख्यामा वृद्धि भएको छ। गत वर्ष कर्णालीबाट ३५ हजार ८०८ विद्यार्थी एसईईमा सहभागी थिए। यो वर्ष झण्डै दुई हजार विद्यार्थीको संख्यामा वृद्धि भएको छ। गत वर्ष कुल विद्यार्थी संख्याको ५८ प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउँने गरी ननग्रेड भएका थिए।

एसईई परीक्षामा प्रदेशभर १८० परीक्षा केन्द्र तोकिएको निमित्त निर्देशक दिपा हमालले बताइन्। उनकाअनुसार जसमा प्राविधिक धारतर्फ १६ वटा परीक्षा केन्द्र तोकिएका छन्। कर्णालीमा परीक्षा सञ्चालन गर्न एक करोड ३९ लाख ३० हजार पाँच सय रुपैयाँ खर्च हुनेछ।

कुन जिल्लाबाट कति विद्यार्थी?

कर्णालीका १० जिल्ला मध्ये एसईईमा सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट सहभागी हुँदैछन्। यहाँबाट नौ हजार ५१३ विद्यार्थीले परीक्षा दिनेछन्। जसमा ३३ परीक्षा केन्द्रबाट सात हजार ५७ र ग्रेडवृद्धितर्फ दुई हजार ४५६ छन्। सुुर्खेतबाट यस वर्ष १३० विद्यार्थीले प्राविधिक एसईई दिनेछन्।

दैलेखबाट ६ हजार १९६ विद्यार्थी एसईई परीक्षा सहभागी हुँदैछन्। कुल २७ परीक्षा केन्द्रबाट नियमिततर्फ चार हजार ७०० र ग्रेडवृद्धितर्फ एक हजार ४९६ विद्यार्थीले परीक्षा दिनेछन्।

यस्तै, २५ वटा परीक्षा केन्द्र रहेको कालिकोटबाट चार हजार ८९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। जसमा तीन हजार १९६ नियमित र ८९३ जना ग्रेडवृद्धितर्फका छन्। कालिकोटबाट ७२ जनाले प्राविधिकधारतर्फको परीक्षा दिनेछन्।

१६ वटा परीक्षा केन्द्र रहेको जुम्लाबाट दुई हजार ६८१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। नियमिततर्फ दुई हजार ५१५ विद्यार्थी रहदा १६६ ग्रेडवृद्धि अन्तर्गतका विद्यार्थी छन्। जुम्लाबाट १४५ जनाले प्राविधिकतर्फको परीक्षा दिनेछन्।

हुम्लामा सात वटा परीक्षा केन्द्रहरू तोकिएका छन्। हुम्लाबाट यस वर्ष एक हजार १०४ जनाले एसईई परीक्षा दिँदैछन्। जसमा नियमिततर्फ ९५० र ग्रेडवृद्धितर्फ १५४ विद्यार्थी छन्।

८ वटा परीक्षा केन्द्र रहेको मुगुबाट ९४६ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। जसमा नियमिततर्फ ७८५ र ग्रेडवृद्धितर्फ १६१ छन्। मुगुबाट प्राविधिकधारतर्फको परीक्षामा ५७ विद्यार्थीले परीक्षा दिनेछन्।

डोल्पामा ७७७ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। कुल चार परीक्षा केन्द्र रहेको डोल्पामा ७३३ नियमित र ४४ ग्रेडवृद्धिका विद्यार्थीले परीक्षा दिनेछन्। डोल्पाबाट १६५ विद्यार्थी प्राविधिकधारतर्फको परीक्षामा सहभागी हुनेछन्।

जाजरकोटबाट चार हजार ६ सय ६८ विद्यार्थीले २२ वटा परीक्षा केन्द्रबाट एसईई परीक्षा दिनेछन्। जसमा नियमिततर्फ चार हजार ३३९ र ग्रेडवृद्धितर्फ तीन सय २९ विद्यार्थी छन्। जाजरकोटबाट १११ जनाले प्राविधिकतर्फको परीक्षामा सहभागी हुनेछन्।

यस्तै, रुकुम पश्चिममा १५ परीक्षा केन्द्रबाट तीन हजार ६६८ विद्यार्थी एसईई दिँदैछन्। जसमा नियमिततर्फ तीन हजार ४४४ र ग्रेडवृद्धितर्फ २२४ जना विद्यार्थी छन्। रुकुम पश्चिमबाट १०६ जनाले प्राविधिकतर्फका छन्।

सल्यानमा २३ परीक्षा केन्द्रबाट चार हजार २६९ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। नियमिततर्फ चार हजार ८५ र ग्रेडवृद्धितर्फ १८४ विद्यार्थी छन्। सल्यानमा २७१ जनाले प्राविधिकधारतर्फको एईई दिनेछन्।

तयारी पूरा
यस वर्षको एसईईको तयारी पुरा भएको छ। शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने उत्तरपुस्तिका, परीक्षा केन्द्र, परीक्षामा खटिने जनशक्ति व्यवस्थापन लगायतका काम सम्पन्न भएका छन्। परीक्षाका लागि आवश्यक पर्ने सामाग्रीहरू सम्बन्धित जिल्लामा पठाइएको छ।

जिल्लाबाट केन्द्राध्यक्ष तोक्ने बाहेकका सम्पूर्ण तयारी पुरा भइसकेको शिक्षा विकास निर्देशनालय निमित्त निर्देशक हमालले जानकारी दिइन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा आगामी ७ चैतबाट सुरु हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ।

यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ। दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ। यस दिन गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ। चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours