सरकारले गहना आयातमा कडाइ गर्दा तेजावी सुनको आयात ठप्प

०४ भदाै, काठमाडाैं । नेपालमा तेजावी सुनको आयात ठप्प गरिएको छ । सरकारले भन्सारमा सुनका गहना आयातमा कडाइ गरेसँगै तेजावी सुनको आयात पनि ठप्प भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भने, ‘नेपालमा तेजावी सुनको गहना मात्र आयात हुने गरेको थियो, गहना आयातमा सरकारले कडाइ गरेसँगै आयात ठप्प भएको हो ।’

गहना आयात खुकुलो भएसँगै तेजावी आयात गरिने उनको भनाइ छ । अहिले तेजावी सुनको साटो २२ क्यारेटको सुन आयात गर्ने गरिएको शाक्यले बताए । नेपालमा साउन १६ गतेदेखि नै तेजावी सुन आयात नभएको उनको भनाइ छ ।

सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्य भने नेपालमा तेजावी सुन बिक्री नै नभएकोले आयात नगरिएको जिकिर गर्छन् । कारोबार नै नभएकोले तेजावी सुनको सट्टा २२ क्यारेटको सुन आयात गरिएको उनको भनाइ छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन भाउ १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन भाउ १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको भाउ प्रतितोला १०० रुपैयाँ घटेको हो ।

यस्तै, मंगलबार चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ५०१ दशमलव १७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ दशमलव ३३ डलरमा कारोबार भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://www.digitalkhabar.com/`; the status code is `200` and content-type is `text/html; charset=UTF-8`

You May Also Like

More From Author

+ There are no comments

Add yours