७ महिनामा ४९ लाख ९३ हजार ४५१ थान मोबाइल आयात
०८ चैत, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ४९ लाख ९३ हजार ४५१ थान मोबाइल आयात भएको छ । यो अवधिमा २६ अर्ब ३० करोड ५५ लाख मूल्य बराबरको सो थान मोबाइल आयात भएको अर्थात मोबाइल खरिदका लागि सो रकम बाहिरिएको भन्सार विभागले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको समीक्षा अवधिमा सबैभन्दा बढी आयात हुने सूचीको तेस्रो स्थानमा परेको मोबाइल आयातबाट ४ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।
पुससम्ममा ३६ लाख ६४ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो परिमाणको मोबाइल सेट आयातका लागि नेपालबाट २० अर्ब ६३ करोड रूपैयाँ बाहिरिएको छ । फोन भित्रिएबापत सरकारलाई ३ अर्ब २६ करोड रूपैयाँ राजस्व संकलन भएको छ ।
कोरोना महामारीपछि मोबाइल आयात एकाएक बढेको व्यवसायीहरूको भनाइ छ । मोबाइल फोन इम्पोर्टर्स एसोसिएनका अध्यक्ष तथा आईएमएस ग्रूपका अध्यक्ष दिपक मलहोत्राले कोरोना महामारीका बेला मोबाइल आयात बढेको बताए ।
नेपाली बजारमा अवैध बाटो भएर प्रशस्तै मोबाइलहरू भित्र्ने गरेकाले आकडामा कम देखिएको थियो,’ उनले भने ‘लकडाउनको बेलामा वैधानिक तरिकाबाट मोबाइल आयात भएको छ ।’
अहिले सुधार आउनु तथा व्यापार बढ्नुमा मुख्य तीनवटा कारण देखिएको छ, उनले भने ‘ बन्दाबन्दीको कारणले चोरी पैठारीका फोन नआउनु हो भने अर्को विद्यालय तथा कलेजमा भएको अनलाइन क्लास र स्मार्ट फोनबाट लिन सक्ने सुविधाका कारण अहिले यसको बिक्री बढेको हो । अहिले फेरि बोर्डर खुलेको छ अब फेरि पुरानै नियतिमा हाम्रो व्यवसाय जाने हो कि भन्ने चिन्ता व्यापारीलाई परेको छ ।’
कोभिडका कारण भएको बन्दाबन्दीको पहिलो तीन महिना व्यापार शुन्य भएपनि त्यसपछि मोबाइल, ल्यापटप तथा कम्प्युटर व्यापारमा केही सुधार भएको थियो ।
अब फेरि अवैध रुपमा भित्रिएका मोबाइलको व्यापारले बजार लिने आशंका उनले गरे । नेपाली बजारमा ४० प्रतिशत मोबाइल अवैध बाटोबाट भित्र्ने गरेको अनुमान सम्बन्धित क्षेत्रले गरेको छ ।
अहिले मोबाइल आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र साढे दुई प्रतिशत अन्तः शुल्क कर लाग्ने गरेको छन् ।
२०७५÷७६ को बजेटले मोबाइलमा फिर्ता हुँदै आएको ४० प्रतिशत भ्याटफिर्ता रोकियो र उल्टै ५ प्रतिशत अन्तःशुल्क लगाइएको थियो । पछि धेरै प्रयासपछि यो दर साढे दुई प्रतिशतमा झारिएको हो ।