३० कार्तिक, सिरहा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत् रूपमा सम्पन्न भएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म विधिपूर्वक मनाइने चार दिवसीय यस अनुष्ठान अन्तर्गत आइतबार साँझ अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व समापन भएको हो।
पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखोनितो खाँदै ‘नहाय–खाय’ विधि पूरा गरेका थिए। दोस्रो दिन पञ्चमी तिथिमा दिनभर निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर ग्रहण गर्दै ‘खरना’ सम्पन्न गरिएको थियो। त्यसपछि षष्ठीको सन्ध्याकालीन र सप्तमीको प्रभातकालीन अर्घ्य दिएर चार दिन लामो कठोर व्रत पूरा भएको छ।

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा पवित्रता एवं अत्यन्त सावधानी अपनाइन्छ। ढिकी तथा जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ एवं चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्ठान्न परिकार, माटोको भाँडोमा जमाइएको दही, उखु, मौसमी फलफूल र कोसीया–कुरबार जस्ता सामग्री सूर्यलाई अर्घ्यका रूपमा चढाउने प्रचलन छ।
सूर्यदेवको आराधना गर्नाले चर्मरोग निको हुने, सन्तान र धनधान्य लाभ हुने, निर्धनता हट्ने तथा पारिवारिक आरोग्यता प्राप्त हुने जनविश्वास छ। आरोग्य, दीर्घायु र समृद्धिसँग जोडिएको यस पर्वको धार्मिक मान्यताका साथै वैज्ञानिक र ज्योतिषीय महत्त्व समेत रहेको पाइन्छ। पहिले मुख्यतया तराई–मधेसमा मात्र सीमित रहेको यो पर्व अहिले राजधानी काठमाडौँसहित पहाडी क्षेत्र र अन्य समुदायमाझ पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ।
यस वर्ष सिरहा जिल्लाभर छठ पर्व शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। पर्वका बेला भीडभाडमा हुन सक्ने सम्भावित दुर्व्यवहार, चोरी तथा लुटपाटका घटना नियन्त्रण गर्न जिल्लाका करिब ५३२ वटा छठ घाटमा गरी ७५० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


+ There are no comments
Add yours