लिखित परीक्षा नलिई सिधै स्थायी

२९ कात्तिक, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिखित परीक्षा नलिई पहिलो पटक एक सय जना उपप्राध्यापकलाई स्थायी सेवामा नियुक्त गर्ने भएको छ । विश्वविद्यालयको शिक्षण पेसामा विशिष्ट अनुभव बोकेका व्यक्तिलाई आकर्षित गर्ने रणनीति अनुसार यसरी उपप्राध्यापक नियुक्त गर्न लागिएको त्रिविले जनाएको छ । उपप्राध्यापक तहमा लिखित परीक्षा नलिई सिधै स्थायी सेवामा नियुक्त गर्न लागिएको यो पहिलो पटक हो । त्रिविका लागि शिक्षक तथा कर्मचारी छनोट गरेर नियुक्तिका लागि सिफारिस गर्ने निकाय त्रिवि सेवा आयोगका अनुसार यसअघि थोरै सङ्ख्यामा सहप्राध्यापक र प्राध्यापकलाई पनि यसरी नै नियुक्त गरिएको थियो ।

यस पटक पनि उपप्राध्यापकसँगै प्राध्यापक १० जना र सहप्राध्यापक २० जना यही प्रक्रियाबाट नियुक्त गर्न लागिएको छ । लिखित परीक्षाको तयारीमा नलागेका तर शिक्षण अनुसन्धान तथा लेख रचनामा सक्रिय रहेका र स्वदेशी तथा विदेशी विश्वविद्यालयमा प्राध्यापन गरिरहेका अब्बल जनशक्तिलाई विश्वविद्यालयमा भित्र्याउन यो प्रक्रिया अवलम्बन गरिएको त्रिविले जनाएको छ ।

फास्ट ट्र्याक (द्रुत मार्ग) विधि पनि भनिने यो प्रक्रियाबाट तीनै तहको प्राध्यापक नियुक्त गर्न सेवा आयोगले आह्वान गरेको विज्ञापन अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिनु पर्छ । आवेदकका कागजपत्रका आधारमा आयोगले छनोट सूची तयार पार्दछ । सोही सूचीका आधारमा अन्तर्वार्तामा बोलाएर स्थायी नियुक्तिका लागि विश्वविद्यालय समक्ष सिफारिस गरिने आयोगका प्रमुख विष्णुप्रसाद अर्यालले बताउनुभयो । अर्यालका अनुसार यसरी नियुक्तिको आधार तय गर्न त्रिवि कार्यकारी परिषद्ले ‘त्रिभुवन विश्वविद्यालय विशिष्टताका आधारमा खुला प्रतियोगिताद्वारा शिक्षक नियुक्तिको सिफारिससम्बन्धी विनियम, २०८२’ बनाएको छ ।

यो विनियममा तीनै तहका प्राध्यापकका लागि २०० पूर्णाङ्कको पाठ्यक्रम तोकिएको छ । जसमा अनुसन्धान कृति प्रकाशनका लागि १५० अङ्क, शिक्षण सेवा अनुसन्धान कार्य र अनुसन्धानको लागि १० अङ्क, शोध निर्देशन र शोध अनुसन्धान पुरस्कारका लागि २० अङ्क तथा अन्तर्वार्ताका लागि २० अङ्क प्रदान गरिने उल्लेख गरिएको छ । खुला, आन्तरिक तथा फास्ट ट्र्याक प्रतिस्पर्धाबाट प्राध्यापक नियुक्त गर्न सेवा आयोगले २०८२ जेठमै विज्ञापन आह्वान गरेको थियो तर त्यतिबेला शिक्षक कर्मचारीको विरोध र त्रिविका पदाधिकारी परिवर्तनका कारणले आवेदन सङ्कलन गरे पनि प्रक्रिया अघि बढ्न सकेन ।

पछिल्लो समय त्रिविमा पदाधिकारी नियुक्ति, सेवा आयोगमा अध्यक्ष तथा सदस्यको नियुक्तिलगायतका काम सकिएसँगै सबै विज्ञापन अनुसार नतिजा प्रकाशन कार्य सुरु गरिएको हो । सेवा आयोगले अहिले खुला तथा आन्तरिक प्रतिस्पर्धाको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता सञ्चालन तथा अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने काम सँगसँगै अघि बढाएको छ । अझै पनि केही विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक हुनै बाँकी छ भने लिखित परीक्षाबाट उत्तीर्ण भएका शिक्षक तथा कर्मचारीको चार हजारभन्दा बढी अन्तर्वार्ता सम्पन्न गर्न बाँकी रहेको सेवा आयोगले जनाएको छ ।

प्रादेशिक दीक्षान्तमा विद्यार्थीको अरुचि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पहिलो पटक आयोजना गर्न लागेको प्रादेशिक दीक्षान्त समारोहमा विद्यार्थीको अरुचि देखिएको छ । विगतमा केन्द्रमा मात्रै दीक्षान्त समारोह आयोजना गर्दा उपत्यकाबाहिरका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई असुविधा भएको गुनासो आएपछि त्रिविले यस पटकदेखि सबै प्रदेशमा समारोह गर्ने निर्णय गरेको थियो ।

त्रिवि कार्यकारी परिषद्को सोही निर्णय अनुसार प्रदेश अनुसार समारोहमा सहभागी हुन चाहने विद्यार्थीबाट त्रिविले आवेदन आह्वान गरेको थियोे । आवेदनमा विद्यार्थीलाई आफू सहभागी हुन चाहने प्रदेशको नाम पनि उल्लेख गर्न अनुरोध गरिएको थियो तर आवेदन दिएकामध्ये अधिकांश विद्यार्थीले बागमती प्रदेश (काठमाडौँ) मा आयोजना गरिने समारोहमा भाग लिने गरी आवेदन दिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले जनाएको छ । धेरै विद्यार्थीले केन्द्रबाटै दीक्षित हुने चाहना राखेपछि त्रिविले पनि सोचेभन्दा फरक अवस्था बनेको जनाएको छ । पनिकाका अनुसार दीक्षान्त समारोहमा भाग लिनका लागि सातै प्रदेशबाट २१ हजार २७४ जनाले आवेदन दिएका छन् । अब हुने दीक्षान्त समारोहका लागि भने ९५ हजार विद्यार्थी योग्य छन् । उनीहरूको ग्रेसलिस्ट त्रिवि सभाले पारित गरिसकेका छन् ।

आवेदन दिएकामध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा आयोजना हुने समारोहमा भाग लिनका लागि १४ हजार ६९१ जनाले आवेदन दिएको परीक्षा नियन्त्रक प्राडा लक्ष्मण पौडेलले जानकारी दिनुभयो । त्यस्तै गण्डकी प्रदेशमा आयोजना हुने दीक्षान्तमा सहभागी हुन दुई हजार २१५ जनाले आवेदन दिएका छन् ।

कोशी प्रदेशबाट सहभागी हुन दुई हजार १० जना, लुम्बिनी प्रदेशबाट सहभागी हुन एक हजार ५१५ जना, मधेश प्रदेशबाट सहभागी हुन ३६४ जनाले आवेदन दिएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट सहभागी हुन २८१ जना र कर्णाली प्रदेशबाट सहभागी हुन १५९ जनाले आवेदन दिएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । तर जति विद्यार्थी भए पनि यस पटक सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गरिने त्रिविका उपकुलपति प्राडा भोला थापाले बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours