नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै, विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्ने

२६ कात्तिक, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेल दिउँसो १२ः३० बजे विराटनगर र पोखराबीच हुनेछ। पाँच खेलबाट चार अङ्क जोडेको विराटनगर र समान खेलबाट दुई अङ्क बटुलेको पोखरा जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा छन्।

अङ्क तालिकाको पुछारमा रहेको पोखराले यसअघि कर्णालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो। आज विराटनगरलाई हराउँदै दोस्रो जित निकाल्ने पोखराको लक्ष्य छ।

दोस्रो खेलमा साँझ ५ बजे कर्णाली र लुम्बिनी आमनेसामने हुनेछन्। पाँच खेलबाट चार अङ्क जोडेको कर्णालीका लागि प्लेअफको दौडमा टिकिरहन आजको खेल महत्त्वपूर्ण छ।

यसअघि मङ्गलबार सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको थियो। उक्त जितसँगै छ खेलबाट आठ अङ्क जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा छ।

पाँच खेलबाट समान आठ अङ्क बटुलेको काठमाडौँ गोर्खाज उत्कृष्ट नेट रनरेटका आधारमा शीर्ष स्थानमा कायम छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours