२० कात्तिक, काठमाडौँ । अमेरिकी राजनीति प्रभावले सुनचाँदीको मूल्यमा एकै दिन उच्च वृद्धि भएको छ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा १३ हजार तीन सय रुपियाँले बढेको छ ।
बुधबार प्रतितोलामा दुई लाख ७५ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य एक्कासि बढेर दुई लाख ८८ हजार नौ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । अन्तर्राष्ट्रिय बजारमा बिहीबार एकैदिन सुनको मूल्य प्रतिऔँस दुई सयले बढेर चार हजार १४३ अमेरिकी डलर पुगेको छ ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिकी राजनीति कारणले सुनको मूल्य हवात्तै बढ्न गएको जानकारी दिनुभयो । “अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदमा बहुमत प्राप्त गरेको छ,” शाक्यले भन्नुभयो, “राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन कमजोर हुँदै गएपछि सुनमा लगानीकर्ता आकर्षित हुँदा मूल्य बढ्न गएको देखिन्छ ।” अमेरिकी डलर सामान्य कमजोर हुँदा पनि मूल्य थप बढ्न गएको उहाँको भनाइ छ ।
साथै तिहारको बेला छिमेकी मुलुक भारतमा सुनको माग बढ्दा त्यस असरले मूल्य बढ्न गएको शाक्यको भनाइ छ । आगामी दिनमा पनि सुनको मूल्य के हुन्छ भन्न नसक्ने अवस्था रहेको उहाँको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलसँगै डलरको मूल्य घट्नु सुनको मूल्य बढ्नुको अर्को कारण रहेको छ । महासङ्घका अनुसार १२ कात्तिकमा तोलामा आठ हजार दुई रुपियाँले घटेको सुनको मूल्य त्यसपछिका दिनमा सामान्य उतारचढाव भइरहेको थियो । साताभर उतारचढाव आएको सुनको मूल्य बिहीबार आएर एक्कासि बढेको हो ।
गत वर्ष १५ माघमा सुनको मूल्य बढेर तीन लाख ३९ हजार रुपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो । त्यसपछि क्रमशः घटेर एक साताअघि तोलामा दुई लाख ७२ हजार रुपियाँसम्म झरेको सुनको मूल्य फेरि बढ्न थालेको छ ।
तिहारमा सुनचाँदीको मूल्य बढ्दा उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । सुनको मूल्य बढ्दा बजारमा माग कम भई कारोबारसमेत घट्ने व्यवसायीको भनाइ छ । धनत्रयोदशी (धनतेरस) का दिन उपभोक्ताले सुनचाँदी खरिद गर्ने गर्छ ।
लक्ष्मीपूजाका लागि सुनचाँदीका गहना खरिद गर्ने परम्परा रहेको छ, जसका कारणले गर्दा धनतेरसका दिन सुनचाँदीको कारोबार पनि बढ्ने गर्छ । महासङ्घका अनुसार विगतका वर्ष धनतेरसका दिनमा सुनको कारोबार अन्य दिनको तुलनामा २५ प्रतिशत बढ्ने गर्छ । यसपालि शुक्रबार धनतेरस परेको छ ।
महासङ्घका द्वितीय उपाध्यक्ष धर्मसुन्दर वज्रचार्यले मूल्य बढेका कारण तिहारमा सुनचाँदीको कारोबार विगतका वर्ष जस्तो बढ्न सक्ने नदेखिएको जानकारी दिनुभयो ।
यसैबिच बिहीबार चाँदीको मूल्य तोलामा २५६ रुपियाँले बढेर तीन हजार ९२० रुपियाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार चाँदीको मूल्य बढेर प्रतिऔँस ५२ अमेरिकी डलर पुगेको छ । गत माघमा चाँदीको मूल्य बढेर तोलामा सात हजार रुपियाँ पुगेको थियो । त्यसपछि क्रमशः मूल्य घटेर तीन हजार छ सय रुपियाँसम्म झरेको थियो ।


+ There are no comments
Add yours