अर्थतन्त्र सुस्त भए पनि सुनचाँदीप्रतिको आकर्षण घटेन, बिहीबार बबरमहलस्थित टक्सार कार्यालयमा अबेरसम्म ग्राहकको लामो लाइन देखियो।
२० कार्तिक, काठमाडाैँ । बबरमहलस्थित राष्ट्र बैंक टक्सार कार्यालयमा बिहीबार बेलुका अबेरसम्म नागरिकको भीड थियो । त्यो भीड सुन र चाँदीका सिक्का किन्नेको थियो । अर्थतन्त्र शिथिल छ, रोजगारीका नयाँ अवसर सिर्जना भएका छैनन् । तर नागरिकमा सुन र चाँदीका सिक्काप्रतिको मोहमा कमी आएको छैन । बिहीबारको सुन र चाँदीका सिक्का किन्नेको भीडले त्यो पुष्टि हुन्छ । गुणस्तरीय सुन अभाव भएको भन्दै अघिल्ला दुई वर्ष सुनको सिक्का (असर्फी) को बिक्री नगरेको राष्ट्र बैंकले यस वर्ष पुनः थालेको छ ।
तिहारमा पर्ने यस दिनमा सुनचाँदीका सामान जोड्ने प्रचलनसमेत छ । केही दशकदेखि भने काठमाडौं उपत्यका र नेपालका पहाडी क्षेत्रहरूमा धनतेरस मनाउने गरिन्छ । यस दिन सुनचाँदी, तामा–पित्तलका भाँडाकुँडा वा इलेक्ट्रोनिक्स सामान किन्ने आधुनिक प्रचलन पछिल्लो २–३ दशकपछि व्यापक रूपमा बढेको छ । यो प्रचलन पहाडी भागमा फैलिनुअघि नै काठमाडौंमा भने त्यस्तै एउटा विशेष प्रचलन थियो । तिहारका लागि भनेर राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दथ्यो । ठ्याक्कै कुन मितिदेखि तिहार लक्षित गरेर यसरी सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्न थालियो भनेर ठोकुवा गर्न सकिँदैन । तर, यो प्रचलन भने पुरानो हो ।
राष्ट्र बैंकको टक्सार विभागमा लामो समय काम गरेका पूर्वअधिकारी विनोद आचार्य सम्झन्छन्, ‘जीवित देवी भनेर पुजिने कुमारीलाई चढाउन भनेर पहिले पहिले राजाहरूले यस्ता सिक्का लिने गर्दथे, दरबार हुँदै मन्त्रीहरूले पनि सिक्का किन्ने चलन बढ्यो, पछि यस्तो अवसर सर्वसाधारणलाई समेत दिन थालियो ।’ त्यतिखेर भने सुनको सिक्का मौज्दात हुँदा वर्षको जुनसुकै समयमा पनि बिक्री हुन्थ्यो । तिहारका लागि भनेर सार्वजनिक सूचना गरेर सुन, चाँदीका सिक्का बिक्री गर्न विशेष दिन नै तोकिने गरिन्थ्यो । यो क्रम दुई वर्षअघिसम्म रह्यो । तर, सुनको मौज्दात नै नहुँदा त्यसपछि भने बिक्री नै बन्द भयो ।
यस पटक भने राष्ट्र बैंकले तिहारको यो परम्परालाई निरन्तरता दिन आफैंले सुनको व्यवस्था गर्नुपरेको छ । आफ्नो मौज्दातमा सुन सकिएपछि दुई वर्षदेखि सुनका असर्फी बिक्री गर्न नसकेको राष्ट्र बैंकले यस पटक वाणिज्य बैंकहरूबाट सुन किनेर भए पनि असर्फी बनाइरहेको बताएको छ । सुनको लागत बढी पर्ने भए पनि तिहारका लागि असर्फी बिक्री गर्ने यो परम्परा रोक्न राष्ट्र बैंक चाहँदैन ।
राष्ट्र बैंकले बिहीबारदेखि सुनका असर्फीसँगै चाँदीका सिक्का बिक्री गरिरहेको छ । शुक्रबारसम्म बिक्री कायम रहन्छ । अघिल्ला दुई वर्ष चाँदीका सिक्का मात्रै बिक्री गरेको राष्ट्र बैंकले यस पटकबाट सुनका असर्फीसमेत बिक्री गरिरहेको हो ।
यस पटक असर्फी बनाउन वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख एवं कार्यकारी निर्देशक अनुज दाहालले बताए । दसैंअघि नै खरिद गरिएको उक्त सुनबाट अहिले असर्फी टक्सार भइरहेको उनले जानकारी दिए । ‘सुन अभावमा हामीले दुई वर्षदेखि असर्फी टक्सार गर्न सकेका थिएनौं,’ दाहालले भने, ‘यस पटक भने वाणिज्य बैंकहरूसँग नै सुन किनेर भए पनि असर्फी बनाएर तिहारमा बिक्री गर्ने भएका छौं ।’

यसअघि राष्ट्र बैंकले सरकारको मातहतमा आएका सुन खरिद गरेर असर्फी बनाउँदै आएको थियो । भन्सार वा अन्य स्थानबाट बरामद भएका सुन सरकारको मातहतमा आएपछि राष्ट्र बैंकले खरिद गरी सिक्का बनाउने गरेको थियो । तर, पछिल्लो दुई वर्षदेखि राष्ट्र बैंकमा रहेको सुनको मौज्दात सकिएको छ । बरामद सुनमध्ये केही राष्ट्र बैंककै संरक्षणमा रहे पनि तिनीसँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन रहेकाले खरिद गरेर प्रयोग गर्न सक्ने अवस्था छैन । त्यसैले यस पटक राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाटै सुन खरिद गरेको हो । नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् ।
वाणिज्य बैंकहरूबाट सुन खरिद गरेर असर्फी बनाउँदा राष्ट्र बैंकलाई विगतको तुलनामा बढी लागत पर्ने देखिन्छ । यसअघि सरकारको मातहतमा आएका सुन खरिद गर्दा राष्ट्र बैंकले खरिद दिनको अन्तर्राष्ट्रिय मूल्यमा थप ५ प्रतिशत रकम तिर्ने गरेको थियो । तर, वाणिज्य बैंकहरूले आयात गर्ने सुनमा अन्तर्राष्ट्रिय मूल्यबाहेक २० प्रतिशत भन्सार शुल्कसमेत जोडिन्छ । यसले गर्दा यस पटक असर्फी बनाउने लागत बढी पर्नेछ । तैपनि राष्ट्र बैंकले धनतेरसमा असर्फी बिक्री गर्ने परम्परालाई निरन्तरता दिन बैंकहरूबाटै सुन खरिद गरेको हो ।
‘राष्ट्र बैंकले सधैं बैंकबाट सुन किनेर यसरी बिक्री गर्न सक्दैन होला,’ दाहाल भन्छन्, ‘तर, धेरै घाटा नहुने अवस्था हुँदासम्म परम्परा पनि जोगाउनुपर्यो ।’
राष्ट्र बैंकले सुन तथा चाँदीका सिक्काको मूल्य बिक्री गर्ने दिनकै अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा निर्धारण गर्छ । बिहीबार राष्ट्र बैंकले २.५ ग्रामको एउटा सुनको असर्फीको मूल्य ६५ हजार ४ सय रुपैयाँमा बिक्री गरेको छ । त्यस्तै, १० ग्रामको चाँदीको सिक्का ३ हजार ८ सय रुपैयाँमा बिक्री गरेको छ । चाँदीका सिक्कामा गणेश र लक्ष्मीको चित्र अंकित हुनेछन् । बजारमा सुनका गहना खरिद गरेजस्तै राष्ट्र बैंकबाट पनि असर्फी खरिद गर्न सकिन्छ ।
धनतेरस तिहार विशेष


+ There are no comments
Add yours