१६ कात्तिक, विराटनगर । भारतबाट अवैध रूपमा भित्र्याएर कोल्ड स्टोरमा भण्डारण गर्न लैजाँदै गर्दा २५ लाख मूल्य बराबरको सयपत्री फूल बरामद भएको छ । तिहार लक्षित गरेर भित्र्याइएको फूल कोल्ड स्टोर पुग्नुअघि नै विराटनगरमा सशस्त्र प्रहरी बल नेपालको टोलीले नियन्त्रणमा लिएको हो ।
भारतबाट अवैध आयात हुने यस्तो फूलमा फर्मालिन प्रयोग हुन्छ । जुन शरीरका लागि स्वस्थकर मानिँदैन । सरकारले समेत भारतबाट आयात हुने फूलमा रोक लगाएका बेला कतिपयले खुला सीमानाका प्रयोग गरेर सयपत्री भित्र्याएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेड क्वाटर कङ्कालिनी मोरङका प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार भन्सारमा जाँचपाससमेत नगराइएको र आधिकारिक कागजातसमेत नभएका कारण फूल नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिएको फूल ग्लोबल कोल्ड स्टोर र राधाकृष्ण कोल्ड स्टोरमा राख्न लैजाँदै गरेको दाबी गरेको छ ।
तिहारमा फूलको उच्च माग हुने भएकाले त्यस अगाडि नै भित्र्याएर चिस्यान भण्डारण गरिन्छ । त्यसपछि महँगो मूल्यमा बिक्री गर्ने गरिएको छ । सुनसरी र मोरङका खुला सीमानाका हुँदै फूल भित्र्याएको आशङ्का गरिएको छ ।


+ There are no comments
Add yours