७ कार्तिक, सुर्खेत । चारैतिर पहाड र डाँडाकाँडाले अँगालो हालेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ । उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेँलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको छ ।
मानौँ, प्रकृतिले हरिया पहाडको काखमा सुनौलो गलैँचा बिछ्याएर वीरेन्द्रनगरलाई सिँगारेकी छन् । वर्षभरि पसिना बगाएका किसानका खेतमा धानका बाला पाकेका छन्। बाली भित्र्याउने दिन नजिकिँदै गर्दा खेतबारीमा आशा, खुसी र मेहनतको मीठो प्रतिफल झल्किन थालेको छ । केही दिनभित्रै किसानहरू पाकेको धान भित्र्याउन व्यस्त हुनेछन् ।
पहाडको हरियाली र खेतको सुनौलोपनबीच सजिएको वीरेन्द्रनगर उपत्यकाको यो दृश्यले प्रकृतिको सुन्दरता मात्रै होइन, कृषि र किसानको जीवनसँग जोडिएको समृद्धिको कथा पनि सुनाइरहेको छ ।




+ There are no comments
Add yours