२६ असाेज, काठमाडाैँ । चलचित्र ‘पाँच पाण्डव’को आयोजना तथा नवज्योति भिजन थेरापी एन्ड आई क्लिनिकको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
काठमाडौंको बानेश्वरस्थित कात्यायनी चोकमा रहेको नवज्योति भिजन थेरापी एन्ड आई क्लिनिकसँगको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। शिविरको उद्देश्य सर्वसाधारणलाई आँखाको स्वास्थ्यप्रति सचेत गराउनु तथा सहज रूपमा आँखा जाँच सेवा उपलब्ध गराउनु रहेको थियो।
आँखा मानव जीवनको महत्वपूर्ण अंग भएकाले नियमित रूपमा आँखा परीक्षण गराउने बानीको विकास गर्न र आँखासम्बन्धी समस्याको समयमै पहिचान गर्न यस्ता शिविरले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

चलचित्र ‘पाँच पाण्डव’ आगामी कार्तिक २० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ। तिहारको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्रको निर्देशन वसन्त निरौलाले गरेका छन्। चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ रहेकी छन्।
चलचित्रमा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा देखिनेछन्। त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी तथा सीता न्यौपाने लगायतका कलाकारको पनि अभिनय रहेको छ।
सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रले पाँच पाण्डवका प्रतीकात्मक चरित्रमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने बताइएको छ। चलचित्रको छायांकन श्याम तामाङले गरेका छन् भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ। चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ।
निःशुल्क आँखा जाँच शिविरजस्ता सामाजिक गतिविधिले चलचित्र क्षेत्रलाई मनोरञ्जनमा मात्र सीमित नराखी जनस्वास्थ्य र सामाजिक सचेतनासँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। ‘पाँच पाण्डव’को टिमले अघि सारेको यस पहलले स्वस्थ आँखा र उज्ज्वल भविष्यको सन्देश प्रवाह गरेको छ।


+ There are no comments
Add yours