ग्यास सिलिन्डर साटफेर सुरु

२६ असाेज, काठमाडाैँ । उपत्यकाका विभिन्न छ स्थानमा आइतबारदेखि जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साटफेर सुरु भएको छ । दसैँका बेला बजारमा उपभोक्तालाई ग्यासको आपूर्ति सहज होस् भनेर जुनसुकै कम्पनीका ग्यास साट्ने व्यवस्था गरिएको हो ।

बिहानैदेखि तोकिएको ठाउँमा उपभोक्ताले खाली सिलिन्डर लगेर ग्यास साटेका छन् । ग्यास साट्नका लागि छ स्थानमै उपभोक्ताको लामो लाइन लागेको थियो ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले टाढा टाढाबाट आएर धेरै उपभोक्ताले ग्यास साटेर लगेको जानकारी दिनुभयो । अभाव खेपेका उपभोक्ताले ग्यास लगेको र नपाएकालाई कुपन दिएर सोमबार आउन भनिएको उहाँले जानकारी दिनुभयो ।

सङ्घका अनुसार बालाजुस्थित नेपाल ग्यासको उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलङ्कीको साईबाबा तथा श्रीकृष्ण ग्यासको गोदाम र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले सिलिन्डर साट्न व्यवस्था गरिएको छ । अधिकांश स्थानमा ग्यास लिने उपभोक्ताको भिड लागेको थियो । यी स्थानबाट फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन । आगामी सप्तमीसम्म ग्यास साट्ने व्यवस्था गरिएको छ ।

नेपाल आयल निगम, नेपाल एलपी ग्यास उद्योग सङ्घ, जिल्ला प्रशासन कार्यालय र ग्यास विक्रेता महासङ्घको समन्वयमा जुनसुकै कम्पनीका सिलिन्डर साट्ने व्यवस्था गरिएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours