कांग्रेस महाधिवेशनमा उत्साही युवा

२० असोज, काठमाडौँ। काठमाडौँमा जारी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी जेनजी प्रतिनिधि पार्टीमा युवापुस्तालाई स्थान दिइएकोमा उत्साहित बनेका छन् । कांग्रेसले यो महाधिवेशनबाट विधान संशोधन गरेर केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था राखेको छ ।

महाधिवेशन बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ पुस्ताका भावनालाई समेट्न १८ वर्षभन्दा माथि र २१ वर्षभन्दा कम उमेर समूहका युवा रहने गरी ‘युथ काउन्सिल’ बनाउने प्रस्ताव गरिएको छ । युवापुस्तालाई पार्टीमा आकर्षित गर्न यस्ता विषय सकारात्मक रहेको युवा प्रतिनिधिले प्रतिक्रिया दिएका छन् ।

तनहुँबाट कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका जेनजी समूहका अनुप आलेमगर कक्षा ११ मा पढ्दैदेखि कांग्रेस भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभएको थियो । हाल उहाँ स्नातकोत्तर तहमा अध्ययन गर्दै हुनुहुन्छ । पार्टी सभापति थापाको नेतृत्वमा कांग्रेसमा पुस्तान्तरण र रूपान्तरण भइरहेको उहाँको बुझाइ छ । आलेमगरले भन्नुभयो, “पार्टी सभापतिले रूपान्तरणको जुन बिगुल फुक्नुभएको छ, त्यसले युवापुस्तालाई समेटेर भोलि सम्मुन्नत देश बनाउने छ भन्ने आशा लिएको छु । यो महाधिवेशनबाट ३५ वर्षमुनिका युवालाई जसरी एउटा अवसर दिइएको छ, यो नै कांग्रेस रूपान्तरण भएको सङ्केतका रूपमा मैले बुझेको छु ।”

काठमाडौँ क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि सुनाबहादुर तामाङले अबको कांग्रेस पुरानो पुस्तालाई पनि सम्मान गर्ने र नयाँ जेनजीलाई पनि माया गरेर सँगै लिएर जाने पार्टीका रूपमा देख्न चाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि युवालाई समेटेर लैजानुपर्ने एउटा परिस्थिति बनेको थियो, त्यसलाई पार्टीले सम्बोधन गरेको छ । अब स्थानीय तहदेखि केन्द्रसम्म पार्टीमा युवापुस्ताको बाहुल्य भएको कांग्रेस बनोस् भन्ने अपेक्षा गरेको छु ।”

प्युठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका कुमार आचार्यले कांग्रेसमा अब नयाँ प्रकारको उभार आउने आशा रहेको बताउनुभयो । एउटा सशक्त र बलियो पार्टी बनेको देख्न चाहेको बताउँदै उहाँले भन्नुभयो, “पार्टीमा युवा सहभागिता बढिरहेको छ, द्वन्द्वपीडित, महिला प्रतिनिधिको पनि सङ्ख्या बढेकाले कांग्रेस अब हिजोकै जस्तो रहने छैन । सत्तामा बस्ने नेताको सोचाइ र युवापुस्ताको सोचाइ फरक भयो भनेर नै जेनजी आन्दोलन भएको थियो । युवापुस्ताको भावनालाई समेटेका कारण युवाको पार्टी बनोस् भन्ने चाहन्छु ।”

धनकुटाबाट महाधिवेशन प्रतिनिधि रहेकी करुणा कटुवालले कांग्रेसमा जेनजीमैत्री नेतृत्व आउने भएकाले पार्टीमा युवा आकर्षण बढेको देख्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अग्रजको अनुभव, युवाको ऊर्जा, महिलाको नेतृत्व र समान सहभागितासहितको कांग्रेसलाई एकसूत्रमा बाँधेर, कांग्रेसका चार पुस्ताको भावनालाई समेटेर देश र जनताका भावना बुझ्न सक्ने कांग्रेस बनेको देख्न चाहन्छु । म १४ औँ महाधिवेशनमा प्रतिनिधि उठ्दा जुन गाह्रो भएको थियो, आज विधानमा नै मेरो पुस्ताको प्रतिनिधित्व सुरक्षित गरिएकाले अब हाम्रो माध्यमबाट कांग्रेसले समाजमा योगदान दिन सक्छ भन्नेमा विस्वस्त छु ।”

बैतडीबाट महाधिवेशन प्रतिनिधि रहेकी भागीरथी भट्टले अहिले ‘सुध्रिएको कांग्रेस’ भन्ने नारा अनुसार युवापुस्ताको प्रतिनिधित्व बढाएकाले नारा सार्थक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय समितिमा ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य, एउटा क्षेत्रबाट कम्तीमा तीन जना युवा प्रतिनिधि सहभागी भएका छन्, यसले साँच्चै कांग्रेस बदलिएको सङ्केत गरेको छ ।”

सिन्धुपाल्चोक–२ का महाधिवेशन प्रतिनिधि दिपेशराज खनालले कांग्रेसले युवा प्रतिनिधि बढाएकाले अब कांग्रेसप्रति युवा आकर्षित हुने विश्वास लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना दलबाट युवामा वितृष्णा छ भन्ने भाष्यलाई अब यो महाधिवेशनले अन्त्य गर्ने छ र युवामैत्री पार्टी बन्ने छ भन्ने विश्वास लिएको छु ।” पर्वतबाट महाधिवेशन प्रतिनिधि सुनील शर्माले कांग्रेसको १५ औँ महाधिवेशनबाट रूपान्तरित कांग्रेस चाहेको बताउनुभयो । कांग्रेसको विशेष महाधिवेशनबाट नै कांग्रेसका युवा, महिला, वृद्ध सबैमा उत्साह जागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कांग्रेस पार्टी ढाकाटोपी लगाउने बुढाको मात्र पार्टी हो भन्ने भएको थियो । अहिले जसरी युवा नेतृत्वको लहर आएको छ, अब कांग्रेस सुध्रियो, नयाँ बाटोमा लाग्यो । अब जनताको मन जित्नका लागि पनि रूपान्तरित कांग्रेस जनताको विश्वास जित्न सक्ने गरी घरआँगनमा पुग्न सकोस् भन्ने चाहना छ ।”

You May Also Like

More From Author

+ There are no comments

Add yours