लोकप्रिय संस्कृतिमा महात्मा गान्धी: इतिहासको पात्रदेखि सिनेमाका पर्दासम्म

१६ असाेज, काठमाडौँ । मोहनदास करमचन्द गान्धी अर्थात् महात्मा गान्धी । उनको निधन भएको करिब आठ दशक पुग्न लाग्दा पनि उनको अनुहार, पहिरन र हिँड्ने शैली विश्वभर चिरपरिचित छ । 

गोलाकार चस्मा, धोती, हातमा लौरो, दुब्लो शरीर र शान्त देखिने मुस्कान । यी सब दृश्य स्मृतिमा गढेर बस्नु पछाडिको कारण केवल उनको राजनीतिक देन वा ऐतिहासिक तस्बिर मात्र होइन बरु चलचित्र, टेलिभिजन, पोस्टर, कार्टुन, विज्ञापन, पुस्तकका आवरण, मूर्ति र तमाम लोकप्रिय संस्कृतिले समग्र प्रस्तुति हो । यिनै लोकप्रिय संस्कृति अर्थात् पपुलर कल्चर गान्धीलाई एउटा ऐतिहासिक व्यक्तिबाट विश्वव्यापी सांस्कृतिक प्रतीक बनाएका छन् ।

त्यसमाथि पनि गान्धीको लोकप्रिय छवि निर्माणमा चलचित्रको भूमिका विशेष महत्त्वपूर्ण छ । उनको जीवनमा आधारित चलचित्र कम बने पनि पर्दामा देखाइएको गान्धीको एउटा संस्करणले धेरै पुस्ताका मानिसको कल्पनामा वास्तविक गान्धीको ठाउँ लिएको छ । 

बेलायती निर्देशक रिचर्ड एटेनबरोको १९८२ को चलचित्र ‘गान्धी’मा बेन किङ्सलेले निर्वाह गरेको भूमिका यसको सबैभन्दा प्रभावशाली उदाहरण हो । चलचित्रले गान्धीको राजनीतिक जीवनलाई वैश्विक दर्शकमाझ पुर्‍यायो र उनको आकृति, भेषभुषा, रहनसहन र जीवनपद्धतिलाई लगायत समग्र छविलाई एउटा मानक रूपमै स्थापित गर्‍यो ।

तर लोकप्रिय संस्कृतिमा गान्धीको यात्रा चलचित्रबाट मात्र बनेको होइन । त्यसका पछाडि उनको आफ्नै समयको पत्रकारिता, फोटोग्राफी, समाचार, राजनीतिक पोस्टर र स्वतन्त्र भारतले निर्माण गरेको राष्ट्रिय स्मृतिको पनि उत्तिकै भूमिका छ ।

चलचित्रप्रति गान्धीको आफ्नै अरुचि

गान्धीको जीवनको एउटा विडम्बना के हो भने, पछि जसलाई चलचित्रले संसारभर चिनायो, उनी स्वयं चलचित्रका उत्साही दर्शक थिएनन् । अकुल त्रिपाठीको ‘गान्धी अन एण्ड इन सिनेमा’मा उद्धृत विवरणअनुसार, गान्धीले आफ्नो जीवनमा हेरेको चलचित्रमध्ये उल्लेखनीय रूपमा अभिलेखित चलचित्र विजय भट्ट निर्देशित ‘राम राज्य’ (१९४३) हो ।

भारतीय चलचित्रसम्बन्धी सरकारी अध्ययनका क्रममा गान्धीले आफू चलचित्र हेर्ने व्यक्ति नभएको बताएका थिए । उनले चलचित्रको सम्भावित सामाजिक लाभभन्दा त्यसबाट हुन सक्ने नकारात्मक प्रभावप्रति बढी चिन्ता व्यक्त गरेका थिए । ३ मे १९४२ को हरिजन पत्रिकामा प्रकाशित उनको भनाइमा पनि चलचित्रप्रतिको यही धारणा देखिन्छ ।

यो दृष्टिकोणलाई गान्धीको आधुनिक प्रविधिप्रतिको जटिल सम्बन्धसँग जोडेर हेर्न सकिन्छ । उनी प्रविधिको पूर्ण विरोधी थिएनन्, तर प्रविधि मानिसको हितमा प्रयोग हुनुपर्छ भन्ने मान्यता राख्थे । चर्खा उनका लागि केवल कपडा उत्पादन गर्ने उपकरण थिएन । त्यो आत्मनिर्भरता, श्रम र औपनिवेशिक आर्थिक संरचनाको विरोधको प्रतीक बनेको थियो ।

यही कारण चार्ली च्याप्लिनसँग लन्डनमा भएको उनको भेट पनि उल्लेखनीय छ । च्याप्लिनसँगको भेटले औद्योगिकीकरण र मेसिनले मानिसको श्रम विस्थापन गर्ने विषयमा छलफलको अवसर दिएको थियो । पछि ‘मोर्डन टाइम्स’ जस्तो चलचित्रमा मेसिन र मानवबीचको सम्बन्धमाथि च्याप्लिनको व्यंग्य स्पष्ट देखियो । गान्धी र च्याप्लिनको भेट आफैँमा लोकप्रिय संस्कृतिको एउटा असाधारण क्षण बन्यो । त्यो दुई फरक माध्यमका दुई विश्वप्रसिद्ध व्यक्तित्वबीचको संवाद थियो ।

क्यामेराले गान्धी ‘बनाएको’ होइन, तर उनलाई स्थायी भने बनाएको हो

गान्धीको लोकप्रिय छविको निर्माणमा चलचित्रभन्दा पहिले नै फोटोग्राफी र समाचारका भिडियोको ठुलो योगदान थियो । गान्धी राजनीतिक नेता मात्र नभएर अत्यन्तै ‘फोटोजेनिक’ व्यक्तित्व पनि थिए । उनको साधारण पहिरन, नाङ्गो खुट्टा, चस्मा, चरखा, प्रार्थना र सार्वजनिक यात्राका दृश्यले क्यामेरालाई शक्तिशाली राजनीतिक सामग्री  उपलब्ध गराए ।

उनको शरीर र जीवनशैली नै एउटा दृश्यात्मक भाषामा बदलियो । अन्य राजनीतिक नेताले भाषण, सैनिक पोसाक वा औपचारिक सत्ता प्रदर्शनमार्फत आफ्नो राजनीतिक अधिकार देखाउँदा गान्धीले त्यसको विपरीत सादगीलाई नै राजनीतिक वक्तव्य बनाए । यही कारण उनको तस्बिर आफैँमा एउटा सन्देश बन्न पुग्यो ।

गान्धीको यही दृश्यात्मक शक्ति चलचित्रका लागि पनि महत्त्वपूर्ण आधार बन्यो । उनको लौरो, चर्खा, प्रार्थना, पैदल यात्रा र नुन यात्रा तथा सत्याग्रहजस्ता दृश्यहरू पछि गान्धीसम्बन्धी हरेक दृश्यात्मक प्रस्तुतिको ‘भाषा’ बने ।

भारतीय सिनेमामा गान्धीको असामान्य अनुपस्थिति

विडम्बना के हो भने भारत विश्वमै सबैभन्दा धेरै चलचित्र उत्पादन गर्ने देशमध्ये एक भए पनि गान्धीको सम्पूर्ण जीवनलाई केन्द्रमा राखेर बनेका चलचित्रको संख्या अपेक्षाकृत कम छ ।

१९५३ मा ‘महात्मा गान्धी: ट्वान्टिथ सेन्चुरी प्रोफेट’ नामक अमेरिकी वृत्तचित्र बनेको थियो । भारतमा भने गान्धीमाथि ठुलो चलचित्र बनाउने विषय लामो समयसम्म योजनामै सीमित रह्यो । जवाहरलाल नेहरूसमेत गान्धीमाथि चलचित्र बनाउन सरकारी संयन्त्र सक्षम नभएको धारणा राखेका थिए ।

१९६३ मा ‘नायन आवर टु राम’ प्रदर्शनमा आयो । स्ट्यान्ली वोल्पर्टको पुस्तकमा आधारित यो चलचित्रले गान्धीको जीवनको सम्पूर्ण कथा नभई उनको हत्या हुनुअघिका अन्तिम नौ घण्टालाई कथाको केन्द्र बनाएको थियो ।

१९६९ मा, गान्धी जन्मेको एक सय वर्ष पुगेको अवसरमा ‘महात्माः लाइफ अफ गान्धी, १८६९–१९४८’ नामक लामो वृत्तचित्र निर्माण भयो । यसले उपलब्ध समाचार चलचित्र र अभिलेखीय सामग्रीलाई समेटेको थियो । यसको महत्त्व ऐतिहासिक अभिलेखको संरक्षणमा ठुलो भए पनि आधुनिक अर्थमा जीवन्त बायोपिकका रूपमा त्यसलाई लिन सकिन्न ।

त्यसपछि गान्धीको जीवनलाई सिनेमामा पुनर्निर्माण गर्ने सबैभन्दा प्रभावशाली प्रयासहरूमा रिचर्ड एटेनबरोको ‘गान्धी’ र श्याम बेनेगलको ‘द मेकिङ अफ द महात्मा’ प्रमुख बने ।

बेन किङ्सलेको गान्धी र विश्वको सामूहिक स्मृति

१९८२ मा आएको ‘गान्धी’ले गान्धीलाई भारतीय इतिहासको पात्रबाट विश्वव्यापी सिनेमाको पात्र बनाइदियो । बेन किङ्सलेको अभिनय, एटेनबरोको निर्देशन र विशाल उत्पादनले गान्धीको राजनीतिक यात्रालाई अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्‍यायो ।

चलचित्रले दक्षिण अफ्रिकादेखि भारतको स्वतन्त्रता आन्दोलनसम्मको गान्धीको यात्रालाई नाटकीय रूपमा प्रस्तुत गर्छ । ‘गान्धी’ले आठ वटा एकेडेमी अवार्ड जितेको थियो, जसमा उत्कृष्ट चलचित्र, निर्देशक र अभिनेता पनि थिए ।

तर यसको प्रभाव पुरस्कारभन्दा धेरै ठुलो रह्यो । संसारका धेरै दर्शकका लागि गान्धीको अनुहार नै बेन किङ्सलेको अनुहार बन्न पुग्यो । वास्तविक ऐतिहासिक व्यक्तित्व र अभिनेताले निर्माण गरेको सिनेम्याटिक व्यक्तित्वबीचको सीमा यहाँ मेटियो । यहीँबाट एउटा महत्त्वपूर्ण प्रश्न उठ्छः हामी गान्धीलाई इतिहासबाट सम्झन्छौँ कि सिनेमाबाट ?

इतिहासकारका लागि गान्धी अनेक विरोधाभास, प्रयोग, राजनीतिक रणनीति र व्यक्तिगत संघर्ष भएका जटिल व्यक्ति हुन् । औपनिवेशिक शक्तिका लागि एकदमै घामट र हठी व्यक्ति हुन् । तर लोकप्रिय संस्कृतिमा उनी प्रायः शान्त, मुस्कुराइरहेका, अहिंसाका उपदेशक र सत्यका प्रतीकका रूपमा उतारिएका हुन्छन् । चलचित्रले जटिल व्यक्तिलाई दुई–तीन घण्टाको कथामा रूपान्तरण गर्दा यस्तो सरलीकरण स्वाभाविक पनि देखिन्छ ।

‘गान्धी’ एउटा पात्रका रूपमा

त्यसो त भारतीय सिनेमाले गान्धीलाई केवल उनको आफ्नै बायोपिकमा मात्र प्रयोग गरेन । उनी अरू ऐतिहासिक पात्रका कथामा पनि देखा परे ।

जिनाह (१९९८), हे राम (२०००), द लेजेन्ड अफ भगत सिंह (२००२), नेताजी सुभाषचन्द्र बोसः द फर्गटन हिरो (२००४) लगायतका चलचित्रमा गान्धी पात्रका रूपमा उपस्थित छन् । यसरी गान्धीको चरित्र भारतीय स्वतन्त्रता आन्दोलनका अन्य व्यक्तित्वलाई बुझ्ने सिनेम्याटिक ‘लेन्स’समेत बनेको छ ।

यसमा दृष्टिकोणअनुसार ठुलो भिन्नता देखिन्छ । कुनै चलचित्रमा गान्धी नैतिक आदर्शका रूपमा आउँछन् भने अर्कोमा उनको राजनीतिक निर्णयमाथि प्रश्न उठाइन्छ । यसले लोकप्रिय संस्कृतिमा गान्धी एउटै अर्थ भएका स्थिर पात्र होइनन् भन्ने पनि देखिन्छ ।

‘गान्धी, माई फादर’: महात्माभन्दा परको गान्धी

खासमा गान्धीको लोकप्रिय संस्कृतिसँगको सम्बन्ध एउटा ठुलो ऐतिहासिक विडम्बना हो । चलचित्रप्रति शंका गर्ने मानिसको छवि नै चलचित्रले विश्वभर स्थायी बनायो । उनले क्यामेरा र पर्दालाई राजनीतिक माध्यमका रूपमा खासै उपयोग गरेनन् । तर उनको जीवन आफैँमा यति शक्तिशाली दृश्यात्मक कथा बन्यो कि त्यसलाई पुस्तौँदेखि क्यामेराले पुनःपुनः निर्माण गरिरहेको छ ।

२००७ को ‘गान्धी, माई फादर’ले गान्धीको सार्वजनिक जीवनभन्दा फरक कोण रोज्यो । फिरोज अब्बास खान निर्देशित यो चलचित्र गान्धी र उनका जेठा छोरा हरिलालबीचको जटिल सम्बन्धमा केन्द्रित छ । ‘महात्मा’ र ‘बाबु’ एउटै व्यक्ति भए पनि उनीहरूका भूमिका एउटै हुँदैनन् भन्ने नै यसको खास दृष्टिकोण थियो ।

राष्ट्रका लागि नैतिक आदर्श मानिएको व्यक्ति आफ्नै परिवारमा कस्तो पिता थिए भन्ने प्रश्नले गान्धीको मानवीय जटिलता उजागर गर्छ । यस प्रकारका चलचित्रले महान् ऐतिहासिक व्यक्तित्वलाई देवत्वकरणबाट बाहिर निकालेर मानिसका रूपमा हेर्न सहयोग गर्छन् ।

‘लगे राहो मुन्नाभाई’ र गान्धीको पुनर्जन्म

गान्धीको लोकप्रिय संस्कृतिमा सबैभन्दा रोचक पुनरागमन भने ‘लगे राहो मुन्नाभाई’ (२००६) बाट भयो । राजकुमार हिरानी निर्देशित यो चलचित्रमा दिलीप प्रभावलकरले निर्वाह गरेको गान्धी कुनै ऐतिहासिक बायोपिकका पात्र होइनन् । उनी नायक मुन्ना भाइको अन्तर्मनमा देखा पर्ने नैतिक आवाज हुन् ।

यही चलचित्रले ‘गान्धीगिरी’ शब्दलाई लोकप्रिय बनायो । सत्य, अहिंसा, संवाद र प्रतिरोधका गान्धीवादी अवधारणालाई समकालीन अपराध, भ्रष्टाचार र सामाजिक सम्बन्धका समस्यासँग जोडेर चलचित्रले नयाँ पुस्तामाझ पुर्‍यायो । यो गान्धीको लोकप्रिय संस्कृतिमा सबैभन्दा महत्त्वपूर्ण परिवर्तनमध्ये एक हो । यहाँ गान्धी कुनै बइतिहास होइनन्, बरु व्यवहार गर्ने तरिका हुन् ।

मूर्तिबाट मेमेसम्म

२१औँ शताब्दीमा गान्धीको लोकप्रिय छवि सिनेमा हलमा मात्र सीमित छैन । सामाजिक सञ्जाल, डिजिटल पोस्टर, कार्टुन, विज्ञापन र ‘मिम’ संस्कृतिले उनको छविलाई अझ धेरै पुनर्निर्माण गरिरहेको छ । उनको चस्मा, चर्खा र अनुहारलाई प्रतीकका रूपमा प्रयोग गरिन्छ । कहिलेकाहीँ यी प्रतीकले गान्धीको वास्तविक विचारभन्दा अलग अर्थ पनि बोक्छन् । यसमा लोकप्रिय संस्कृतिको शक्ति र जोखिम दुवै देखिन्छ । प्रतीक अत्यन्त लोकप्रिय हुन सक्छ, तर प्रतीक बनेपछि त्यसको मूल सन्दर्भ हराउन सक्छ ।

आज गान्धीको तस्बिर भारतीय रुपैयाँको नोटदेखि विद्यालयका पाठ्यपुस्तक, सरकारी भवन, सडकका मूर्ति र विश्वभरका संग्रहालयसम्म देखिन्छ । तर उनको विचारलाई बुझ्नु र उनको छवि चिन्नु एउटै कुरा होइन ।

किन अझै गान्धी ?

गान्धीको लोकप्रियता केवल उनको ऐतिहासिक भूमिकाका कारण टिकेको होइन । उनको राजनीतिक दर्शनमा आज पनि बहस गर्न सकिने विषयहरू छन्: अहिंसा, सत्याग्रह, नागरिक अवज्ञा, नैतिक राजनीति, उपभोग र आवश्यकता, ग्राम स्वराज आदि । तर गान्धीलाई लोकप्रिय संस्कृतिले जति सरल बनाएको छ, उनको वास्तविक व्यक्तित्व त्यति सरल थिएन । उनी स्वयंलाई निरन्तर ‘प्रयोग’ गरिरहेका व्यक्ति थिए । जाति, आधुनिकता, लैंगिक सम्बन्ध, औद्योगिकीकरण, धर्म, राष्ट्रवाद र राजनीतिक रणनीतिसम्बन्धी उनका विचारमा प्रशंसा र आलोचना दुवैका पर्याप्त आधार छन् ।

खासमा गान्धीको लोकप्रिय संस्कृतिसँगको सम्बन्ध एउटा ठुलो ऐतिहासिक विडम्बना हो । चलचित्रप्रति शंका गर्ने मानिसको छवि नै चलचित्रले विश्वभर स्थायी बनायो । उनले क्यामेरा र पर्दालाई राजनीतिक माध्यमका रूपमा खासै उपयोग गरेनन् । तर उनको जीवन आफैँमा यति शक्तिशाली दृश्यात्मक कथा बन्यो कि त्यसलाई पुस्तौँदेखि क्यामेराले पुनःपुनः निर्माण गरिरहेको छ ।

गान्धीको वास्तविक शक्ति उनको तस्बिरमा मात्र छैन । बरु त्यो तस्बिरले हरेक पुस्तामा जगाउने प्रश्नमा छः अहिंसा कमजोरी हो कि प्रतिरोधको अर्को रूप ? सत्य व्यक्तिगत सद्गुण मात्र हो कि राजनीतिक हतियार ? र, एउटा साधारण मानिस कसरी आफैँ एउटा विश्वव्यापी प्रतीक बन्न सक्छ ? यही प्रश्नका कारण गान्धी इतिहासको पानामा सीमित छैनन् । उनी आज पनि चलचित्रको पर्दामा, टेलिभिजनमा, विज्ञापनमा, कार्टुनमा, डिजिटल संस्कृतिमा र सार्वजनिक स्मृतिमा जीवित छन् । लोकप्रिय संस्कृतिले गान्धीलाई केवल सम्झिएको मात्र छैन, हरेक पुस्ताले आफ्नै समयअनुसार नयाँ गान्धी पनि निर्माण गरिरहेको छ ।

References:
Magdum, Prakash. (2022). The Mahatma on Celluloid: A Cinematic Biography. HarperCollins India.
Murthy, C. S. H. N., Meitei, O. B., & Tariang, D. (2013). “The Tale of Gandhi Through the Lens: An Inter-Textual Analytical Study of Three Major Films—Gandhi, The Making of the Mahatma, and Gandhi, My Father.” CINEJ Cinema Journal, 2(2), 4–37.
Trivedi, Harish. (2011). “Literary and Visual Portrayals of Gandhi.” In The Cambridge Companion to Gandhi. Cambridge University Press.
Zaidi, Nishat & Indrani Das Gupta, eds. (2022). Gandhi in India’s Literary and Cultural Imagination. Routledge India.

You May Also Like

More From Author

+ There are no comments

Add yours