१६ भदाै, काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसैको प्रभावस्वरूप आगामी केही दिन देशभर मौसम बदली भई विभिन्न स्थानमा वर्षा र हिमपात हुने देखिएको छ।
दिउँसो देशभर साधारणतया बदली (आकाशमा साधारणतया बादल लाग्ने) रहनेछ। देशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैगरी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेस र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ।
साथै, देशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति पनि देशभर साधारणतया बदलीकै अवस्था रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थान र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईतर्फ कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ।
विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा रात्रिकालीन समयमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।


+ There are no comments
Add yours