मैदान फर्कंदै ४६ वर्षे रोनाल्डिन्हो

रेभेन्ना, इटाली (एएफपी)– सन् २०१५ मा फुटबलबाट संन्यास लिएका ब्राजिलका पूर्वस्टार रोनाल्डिन्होले ११ वर्षपछि खेलमा पुनरागमन गर्न लागेको बिहीबार बताएका छन् ।

०६ भाद्र, रेभेन्ना, इटाली सन् २०१५ मा फुटबलबाट संन्यास लिएका ब्राजिलका पूर्वस्टार रोनाल्डिन्होले ११ वर्षपछि खेलमा पुनरागमन गर्न लागेको बिहीबार बताएका छन् । उनी इटालीको तेस्रो डिभिजनको क्लब रेभेन्नामा आबद्ध हुँदै आफ्नो ३ सय गोल पूरा गर्ने प्रयासमा हुनेछन् ।

सन् २००२ को विश्वकप विजेता तथा २००५ का बालोन डी’अर विजेता ४६ वर्षीय रोनाल्डिन्होले ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट सन् २०१५ को सेप्टेम्बरमा आफ्नो अन्तिम आधिकारिक खेल खेलेका थिए । रेभेन्नामा आयोजित भएको प्रस्तुतिकरणका क्रममा उनले भनेका छन्, ‘म यहाँ साथीहरूसँग हुन पाउँदा निकै खुसी छु । हामीसँग केही राम्रो गर्न सक्ने टोली छ ।’ पेरिस सेन्ट जर्मेन (पीएसजी), बार्सिलोना र एसी मिलानका पूर्व प्लेमेकरले आफू खेल्ने वा नखेल्ने विषय भने प्रशिक्षकमा निर्भर रहने बताए ।

‘के तपाईंले मलाई खेलिरहेको देख्नुहुनेछ ? मलाई थाहा छैन, त्यो कुरा प्रशिक्षकलाई मात्र थाहा छ । इटाली फर्किनु अद्भूत छ । म यहाँ मेरा साथीहरूलाई जिताउन सहयोग गर्न आएको हुँ ।’ उनले आफू फिट रहेको बताए । आफूले राम्रो महसुस गरिरहेको बताउँदै रोनाल्डिहोले व्यक्तिगत ३ सय गोल गर्न सकें भने त्यो अझ सुन्दर हुने बताएका छन् ।

रोनाल्डिन्होको पुनरागमन घोषणा जुन महिनामा मियामीमा सम्पन्न विश्वकपका क्रममा क्लबका मालिक तथा इटालियन–अमेरिकी व्यवसायी इग्नाजियो सिप्रियानीले गरेका थिए । सिप्रियानीले २०२४ यता रेभेन्नाको स्वामित्व सम्हालिरहेका छन् । सिप्रियानीले बिहीबार भने, ‘रोनाल्डिहोको उद्देश्य भावनात्मक छ, व्यक्तिगत अन्तिम गोल गर्ने प्रयास गर्नु ।’

उनले रोनाल्डिन्होको सहभागिता केवल औपचारिकता वा क्लबलाई चर्चामा ल्याउने मार्केटिङ स्टन्ट नभएको पनि स्पष्ट पारे । ब्राजिलका लागि ९७ खेलमा ३३ गोल गरेका रोनाल्डिन्हो क्लबको सेयरहोल्डरसमेत बन्ने छन् । तर उनले सोमबार रेजियानाविरुद्ध हुने सिरी ‘सी’ सिजनको उद्घाटन खेल भने खेल्ने छैनन् ।

रेभेन्नाले गत सिजन तेस्रो डिभिजनको ग्रुप ‘बी’ मा तेस्रो स्थान हासिल गरेको थियो । क्लब अब सन् २००८ पछि पहिलो पटक सिरी ‘बी’ मा फर्किने लक्ष्यमा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours