तोकिएको कोटा सकिएपछि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प

०६ भाद्र, काठमाडौँ । तोकिएको कोटा सकिएपछि देशभर २२ दिनदेखि लाइसेन्स प्रिन्ट ठप्प बनेको छ । यसभन्दा अघि यातायात व्यवस्था विभाग छपाइ हुँदै आएको लाइसेन्स प्रदेशले नै छपाइ गर्ने छ भनेर सूचना निकालेको २२ दिन बितिसक्दा पनि कुनै पनि प्रदेशको यातायात मन्त्रालयअन्तर्गतका कार्यालयले लाइसेन्स प्रिन्ट सुरु गरेका छैनन् ।

विगत २२ दिनदेखि सुरक्षण मुद्रण केन्द्रमार्फत हुँदै आएको छपाइ कार्य असार मसान्तसम्मका लागि तोकिएको कोटा सकिएपछि रोकिएको हो । देशभर नयाँ ट्रायल पास गरेका, नवीकरण गर्न दिएका र वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूले पनि लाइसेन्स पाएका छैनन् ।

विगत चार वर्षदेखि छपाइ मेसिन, जनशक्ति र सफ्टवेयरको समस्या झेल्दै आएको विभागले पछिल्लो समय सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी काम अघि बढाएको थियो । विभागका निर्देशक केशव खतिवडाद्वारा जारी विज्ञप्तिअनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका २ लाख ७४ हजार २५३ थान स्मार्ट कार्डहरू २०८३ साउन ७ गतेसम्म छापिएर हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयहरूमा पठाइसकिएको छ ।

उक्त परिमाणको कार्ड छपाइ सकिएयता नयाँ प्रिन्ट नहुँदा विशेष गरी वैदेशिक रोजगारी र अध्ययनको लागि जाने नागरिकहरू प्रत्यक्ष मारमा परेका छन् । विदेश जाँदा अनिवार्य जस्तै मानिने स्मार्ट कार्ड समयमा नपाउँदा सेवाग्राहीहरूले सास्ती व्यहोर्नुपरेको छ ।

विभागले म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्सको छपाइ नगरिने र नवीकरणपछि १० वर्ष अवधिको कार्ड पाइने स्पष्ट पारेको छ ।

विभागले भनेको छ, ‘सवारी चालक अनुमति पत्रमा भएको विवरणगत त्रुटिहरूको सुधार, लाइसेन्स छपाइ र वितरण सम्बन्धी कार्य सम्बन्धित कार्यालयबाट तत्कालै हुने प्रबन्ध मिलाइएकाे छ । उल्लेखित सेवा तथा वैदेशिक रोजगारीमा जान लागेकाहरुका लागि द्रुत छपाइ र कार्ड वितरण सम्बन्धी सेवा प्राप्तिका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुमा सम्पर्क गर्नुहुन अनुरोध छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours