‘सवारी कर्जामा नयाँ व्यवस्थाले सेवाग्राहीलाई राहत’

नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीहरूले वित्तीय क्षेत्रमा निर्वाह गर्दै आएको भूमिकालाई थप संस्थागत मान्यता दिनुका साथै कम्पनीहरूको दीर्घकालीन स्थायित्वका लागि समेत सकारात्मक आधार तयार गरेको एसोसिएसनको भनाइ छ ।

०६ भाद्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई लक्ष्य गर्दै ल्याएको नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको पहुँचबाहिर रहेका उपभोक्ता तथा व्यवसायीलाई वित्तीय सेवामा जोड्न सहज वातावरण बन्ने हायर पर्चेज कम्पनीहरूको संगठनले बताएको छ ।

राष्ट्र बैंकले २६ साउनमा जारी गरेको ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था–२०८३’ को एसोसिएसन अफ हायर पर्चेज कम्पनिज अफ नेपालले स्वागत गरेको हो । नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीहरूले वित्तीय क्षेत्रमा निर्वाह गर्दै आएको भूमिकालाई थप संस्थागत मान्यता दिनुका साथै कम्पनीहरूको दीर्घकालीन स्थायित्वका लागि समेत सकारात्मक आधार तयार गरेको एसोसिएसनको भनाइ छ ।

नयाँ व्यवस्थामा हायर पर्चेज कम्पनीले आफ्ना ग्राहकबाट १ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ । यसले कम्पनीहरूको सञ्चालन स्थायित्वमा सहयोग पुग्ने र स्प्रेडसँग सम्बन्धित समस्या पनि सम्बोधन हुने एसोसिएसनले बताएको छ ।

कम्पनीको दीर्घकालीन नवीकरण अवधि १० वर्ष कायम गर्ने व्यवस्थाले संस्थागत स्थायित्व र लगानीको वातावरणमा सकारात्मक प्रभाव पार्ने एसोसिएसनको भनाइ छ । राष्ट्र बैंकबाट अनुमति लिएर १० वटा हायर पर्चेज कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले मोबाइल फोन, होम अप्लाइन्सेस, विद्युतीय उपकरणदेखि मोटरसाइकल, रिकन्डिसन सवारीसाधन तथा हेभी इक्विपमेन्ट खरिदका लागि समेत कर्जा उपलब्ध गराउँदै आएका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट सहज रूपमा कर्जा लिन नसक्ने उपभोक्तालाई वित्तीय पहुँचमा ल्याउने एसोसिएसनका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए । ‘सवारीसाधन, मोटरसाइकल वा हेभी इक्विपमेन्टमा लगानी गर्न बैंकबाट सहजै कर्जा पाउने अवस्था थिएन । सहकारीबाट कर्जा पाए पनि प्रक्रिया सहज थिएन,’ उनले भने, ‘त्यही अवस्थालाई सम्बोधन गर्न हायर पर्चेज कम्पनीका लागि नियमावली ल्याइएको हो ।’

पछिल्लो समय हायर पर्चेज कम्पनीको सेवा सवारीसाधन र हेभी इक्विपमेन्टमा मात्रै सीमित नरहेको अग्रवालले जनाए । अहिले १० हजार रुपैयाँसम्मका इलेक्ट्रोनिक सामानदेखि वासिङ मेसिनलगायत वस्तु खरिदमा समेत हायर पर्चेजमार्फत कर्जा उपलब्ध हुन थालेको छ ।

हायर पर्चेज कम्पनीहरूले व्यावसायिक सवारीसाधनका चालक तथा व्यवसायी, साना उद्यमी र बैंकिङ प्रणालीमा सहज पहुँच नभएका उपभोक्तालाई कर्जा उपलब्ध गराउँदै आएका छन् । यसबाट नयाँ उद्यम तथा रोजगारी सिर्जनामा समेत योगदान पुगिरहेको एसोसिएसनको दाबी छ ।

सवारीसाधन तथा उपकरण खरिदमा हुने लगानीले नागरिकको उत्पादकत्व र कार्यक्षमता बढाउनुका साथै व्यापार–व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने एसोसिएसनले जनाएको छ । नयाँ व्यवस्थामार्फत हायर पर्चेज कम्पनीलाई विभिन्न स्थानमा सम्पर्क कार्यालय खोल्न दिने प्रावधानलाई पनि एसोसिएसनले सकारात्मक रूपमा लिएको छ ।

हायर पर्चेज कम्पनी पछिल्लो १२ वर्षदेखि नेपाल राष्ट्र बैंकको नियमनमा रहेर सञ्चालन हुँदै आएका छन् । पुरानो व्यवस्थामा रहेका व्यावहारिक समस्या समाधानका लागि कम्पनीहरूलाई संगठित भएर आफ्ना समस्या तथा सुझाव राख्न नियामक निकायले सुझाव दिएपछि एसोसिएसन गठन गरिएको अध्यक्ष अग्रवालको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours