जर्मनी र आइभरी कोस्ट लगातार दोस्रो जितको लक्ष्यमा

०६ असार, काठमाडौँ। फिफा विश्वकप २०२६ को समूह ‘इ’ अन्तर्गत क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा दुई अपराजित टोलीहरू जर्मनी र आइभरी कोस्ट आमनेसामने हुँदैछन् ।

आफ्नो पहिलो खेलमा कुरासाओलाई ७-१ को विशाल अन्तरले ध्वस्त पारेको जर्मनी र इक्वेडरविरुद्ध अन्तिम समयमा आमाद डियालोको गोलको मद्दतले १-० को संघर्षपूर्ण जित निकालेको आइभरी कोस्ट दुवैको लक्ष्य लगातार दोस्रो जित निकाल्नु हो ।

हाल ३-३ अंक जोडेका यी दुई टोलीमध्ये आज जित्ने टोलीले एक खेल अगावै विश्वकपको नकआउट चरण (राउन्ड अफ ३२) मा आफ्नो स्थान पक्का गर्नेछ ।

आक्रामक लयमा देखिएको जर्मनी र शारीरिक रूपमा बलियो आइभरी कोस्टबीचको यो भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

हेड-टु-हेड र पछिल्लो लय

यी दुई देशबीच विगतमा भएका दुई मैत्रीपूर्ण खेलहरूमध्ये जर्मनीले एक खेल जितेको छ भने सन् २००९ को पछिल्लो भेट २–२ को बराबरीमा सकिएको थियो ।

हालको लयलाई हेर्दा जर्मनी निकै उच्च फर्ममा छ र उसले आफ्ना पछिल्ला पाँचवटै खेलहरूमा शानदार जित दर्ता गर्दै अपराजित यात्रा कायम राखेको छ ।

अर्कोतर्फ आइभरी कोस्टले पनि पछिल्ला पाँचमध्ये चार खेलमा जित निकाल्दै बलियो उपस्थितिको संकेत दिएको छ र उनीहरू जर्मनीको लयलाई रोक्ने दाउमा छन् ।

टिम न्युज

जर्मनीका कुनै पनि खेलाडी घाइते छैनन् । प्रतियोगिताअघि पिँडौलाको समस्या झेलेका कप्तान तथा अनुभवी गोलकिपर म्यानुएल नोयर पूर्ण रूपमा फिट भई पहिलो खेल खेलिसकेका छन् ।

प्रशिक्षक जुलियन नागल्सम्यानले कुरासाओविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको विजयी टोलीलाई नै मैदान उतार्ने सम्भावना छ, जहाँ जोसुवा किमिच र जोनाथन ताहसहितको डिफेन्स र युवा मिडफिल्ड जोडी फेलिक्स न्मेचा र अलेक्जान्डर पाभ्लोभिचले टिम सम्हाल्नेछन् ।

आइभरी कोस्ट भने चोट र अनुपस्थितिको केही समस्यासँग जुधिरहेको छ। टोलीका स्टार डिफेन्डर इभान न्डिका तिघ्राको चोटका कारण र फरवार्ड एली वाही गैर–चोट कारणले यो खेलमा उपलब्ध हुने छैनन् ।

प्रशिक्षक इमर्स फाएले वाहीको स्थानमा इभान गुइसान्ड वा आङ्गे–योआन बोनीलाई फरवार्ड लाइनमा मौका दिन सक्छन् । मिडफिल्डमा फ्रान्क केसी र सेको फोफानाको शारीरिक शक्ति र विङ्गरहरूको गतिको प्रयोग गरी जर्मनीको बलियो आक्रमणलाई रोक्दै काउन्टर अट्याक गर्ने आइभरी कोस्टको मुख्य रणनीति हुनेछ ।

प्लेयर्स टु वाच

जर्मनी

जमाल मुसियाला : पहिलो खेलमा कुरासाओको डिफेन्सलाई छिन्नभिन्न पारेका उनी जर्मनीको आक्रमणका मुख्य मेरुदण्ड हुन् । उनको गज्जबको ड्रिब्लिङ र बक्सभित्र छिर्ने गतिलाई रोक्न आइभरी कोस्टको डिफेन्सलाई निकै मुस्किल पर्ने देखिन्छ ।

फ्लोरियन विर्ट्ज : विङ्गर र मिडफिल्ड दुवै पोजिसनबाट घातक पास निकाल्न र खेलको गति परिवर्तन गर्न उनी माहिर छन् । विपक्षी डिफेन्सको सानो गल्तीमा पनि गोलको अवसर सिर्जना गर्न सक्ने क्षमताका कारण उनी निकै खतरनाक सावित हुन सक्छन् ।

काई हाभेर्ट्ज : टोलीका मुख्य स्ट्राइकरका रूपमा रहेका उनले पहिलो खेलमा जस्तै फ्रन्टलाइनको नेतृत्व सम्हाल्नेछन् । आइभरी कोस्टको शारीरिक रूपमा बलियो डिफेन्सलाई व्यस्त राख्न र गोल गर्ने लयलाई निरन्तरता दिन उनको भूमिका महत्त्वपूर्ण हुनेछ ।

आइभरी कोस्ट

अमाद डियालो : पहिलो खेलको ९०औं मिनेटमा विजयी गोल गरेर नायक बनेका उनी यतिबेला उच्च मनोबलमा छन् । उनको तीव्र गति र काउन्टर अट्याकमा निस्कने शैली जर्मनीको डिफेन्सका लागि ठुलो चुनौती बन्न सक्छ ।

फ्रान्क केसी : मिडफिल्डका इन्जिन मानिने उनी डिफेन्सको अगाडि सुरक्षा पर्खाल बनेर उभिनेछन् । जर्मनीको बलियो र आक्रामक मिडफिल्ड आक्रमणलाई रोक्न र आफ्नो टोलीका लागि खेल नियन्त्रणमा राख्न उनको प्रदर्शन निर्णायक हुनेछ ।

सेको फोफाना : शारीरिक रूपमा बलियो यी बक्स-टु-बक्स मिडफिल्डर बल खोस्न र विपक्षी बक्ससम्म आक्रमण बुन्न खप्पिस छन्। जर्मनीको युवा मिडफिल्ड जोडीलाई दबाबमा राख्न उनको अनुभव र शारीरिक शक्ति आइभरी कोस्टका लागि मुख्य हतियार बन्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours