सगरमाथामा बढ्दो मानव चापप्रति चिन्ता

१४ जेठ, काठमाडौँ । पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ्दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गर्नुभएको छ ।

हिमपहिरो, बढ्दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ्दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ्दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन, शेर्पा पथप्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक, बिमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेसाबाट बढ्दो पलायनका कारणसमेत आरोहणमा चुनौती थपिँदै गएको छ ।

सगरमाथाको २५ पटक सफल आरोहण गरिसकेका पेम्बाछिरिङ शेर्पाले नेपाल र नेपालको पर्वतारोहण चिनाउन शेर्पा समुदायको मुख्य भूमिका रहे पनि राज्यबाटै विभिन्न असमानता भोग्दै आएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हिमाल आरोहणको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पथप्रदर्शकले जोखिम अनुसारको पारिश्रमिक नपाउने, विदेशी आरोही सरह पर्याप्त बिमा नपाउने र आरोहीलाई राज्यले दिने सम्मानमा समेत असमानता हुँदा युवापुस्ताको आरोहणप्रति मोह घट्दै गएको छ । आरोहीका परिवारलाई शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा सरकारले ध्यान नदिँदा आरोहीको भविष्यसमेत सुनिश्चित देखिँदैन ।”

पटक पटक हिमालका चुचुरो टेकेका अनुभवी आरोहीको व्यवस्थापनमा समेत सरकार चुकेको जनाउँदै आरोहणबाट अवकाश लिएका आरोहीको ज्ञान र अनुभवलाई सरकारले बेवास्ता गर्न नहुने उहाँको भनाइ छ ।

यस वर्षको वसन्तकालीन आरोहण अन्तर्गत १० औँ पटक सगरमाथाको चुचुरोमा पुगेर काठमाडौँ फर्किनुभएका दावासिन्जु लामाले विदेशी आरोहीको निधन भएमा सम्बन्धित परिवारले क्षतिपूर्तिबापतको उल्लेख्य रकम पाउने र राज्यबाट छोराछोरीको उच्च शिक्षाको समेत सुनिश्चितता हुने गरेको भए पनि हिमाल चिनाउने नेपाली आरोहण सहयोगीले भने १५ लाख रुपियाँमै सीमित हुनु परेको दुःखेसो पोख्नुभयो ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सङ्घका अध्यक्ष तुलसिंह गुरुङले हिमाली पर्यटन नेपालको प्रमुख आयस्रोत भए पनि त्यसको मेरुदण्ड मानिने पथप्रदर्शकका समस्या समाधानमा राज्य अझ प्रभावकारी रूपमा अगाडि बढ्न आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “आरोहण सहयोगीले हिमालमा बाटो बनाउने, डोरी फिक्स गर्ने, अक्सिजन सिलिन्डर र आवश्यक सामग्री पु¥याउने जस्ता अत्यन्त जोखिमपूर्ण जिम्मेवारी समाल्ने गरे पनि आरोहणपछि मुख्य श्रेय भने विदेशी आरोही वा अभियान कम्पनीले पाउने अवस्था छ । एकातर्फ हिमालमा काम गर्ने कामदारको परिचय नै रहेको छैन भने अर्कोतर्फ तराईमा काम गर्ने कामदार र उच्च संवेदनशील हिमाली क्षेत्रमा काम गर्ने कामदारमा समेत समान (१५ प्रतिशत) कर लागु गरेर राज्यले विभेद गरेको छ ।”

अर्का पर्वतारोही ज्यामचुङ भोटेले राज्यले जारी गर्ने पर्वतारोहण पथप्रदर्शकको अनुमतिपत्र नै अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक सङ्घको मापदण्ड अनुसार नभएको बताउनुभयो । आरोेहणमा समेत राजनीति प्रवेश हुनुले यो क्षेत्र बदनाम हुँदै गएको उहाँको धारणा छ । सन् २०१३ मा सगरमाथा आरोहण गर्नुभएका भारतीय आरोही प्रेमकुमार सिंहले सगरमाथामा बढ्दै गएको मानव चापका कारण आरोहीको निधन हुने गरेको बताउनुभयो । सगरमाथा चढ्ने बढ्दो आरोहीको सङ्ख्याले ‘एलो स्टोन’ क्षेत्रमा ट्राफिक जाम हुने गरेको र घण्टौँ लाइनमा बस्दा शरीरको तापक्रम घट्दै जाँदा आरोहीको निधन हुने गरेको उहाँको बुझाइ छ । अनुभवी आरोहीसमेत आरोहण दलमा सहभागी भइरहेकाले सरकारले निश्चित मापदण्ड तोकेर आरोहण व्यवस्थापनमा लाग्नुपर्ने उहाँको भनाइ छ ।

आरोहणका क्रममा आरोहीले छोडेका प्लास्टिक, अक्सिजन सिलिन्डर, टेन्ट, मानव मलमूत्रले सगरमाथा प्रदूषित हुँदै गएको बताउँदै उहाँले सगरमाथासँगै स्थानीय वातावरण जोगाउन पनि उत्तिकै आवश्यक रहेको धारणा राख्नुभयो । जारी वसन्तकालीन आरोहणमा बुधबारसम्म नौ सयभन्दा धेरै आरोहीले सगरमाथा आरोहण गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours