पतिसँग अलगिन लागेकी हुन् मौनी राय ?

२९ वैशाख, नयाँ दिल्ली । मनोरञ्जन क्षेत्रमा सम्बन्ध कहिले बन्ने र कहिले बिग्रिने भन्ने अनुमान गर्न कठिन हुन्छ । भारतीय टेलिभिजन तथा बलिउड अभिनेत्री मौनी राय यतिबेला व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । मौनी र उनका पति सुरज नामवियारबीच सम्बन्धमा दूरी बढेको चर्चा भइरहेको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा दुवैले एकअर्कालाई पछ्याउन छाडेपछि उनीहरूको सम्बन्धबारे विभिन्न अड्कलबाजी सुरु भएको हो । हिजोसम्म रोमान्टिक तस्बिरले भरिएका उनीहरूका सामाजिक सञ्जाल खातामा अहिले दूरी देखिन थालेपछि प्रशंसक अचम्मित भएका छन् । मौनीले पति र विवाहसँग सम्बन्धित केही तस्बिरसमेत हटाएकी छन् ।

मौनी र सूरजलाई बलिउडका चर्चित जोडीमध्ये एक मानिन्थ्यो । दुवैले सामाजिक सञ्जालमा नियमित रूपमा संयुक्त तस्बिर तथा भिडियो सार्वजनिक गर्ने गर्थे । प्रशंसकहरूले उनीहरूको सम्बन्धलाई निकै रुचाएका थिए । तर अचानक एकअर्कालाई पछ्याउन छाडेपछि सम्बन्धमा समस्या आएको चर्चा फैलिएको छ ।

यद्यपि, उनीहरूबीच सम्बन्ध विच्छेद हुन लागेको भन्ने विषय आधिकारिक रूपमा पुष्टि भएको छैन । दुवैले यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

मौनी र सूरजले सन् २०२२ मा गोवामा विवाह गरेका थिए । विवाह बंगाली र मलयाली परम्पराअनुसार सम्पन्न भएको थियो । केही समयअघिसम्म पनि दुवैलाई सँगै बिदा मनाइरहेको तथा विभिन्न कार्यक्रममा सहभागी भइरहेको देखिन्थ्यो ।

एकता कपूर निर्मित टेलिभिजन धारावाहिक नागिनबाट मौनीले व्यापक लोकप्रियता हासिल गरेकी हुन् । त्यसपछि उनले चलचित्र तथा ओटीटी माध्यममा पनि काम गर्दै आएकी छन् ।

सूरज नाम्बियार भने मनोरञ्जन क्षेत्रभन्दा बाहिरका व्यक्ति हुन् । उनी लगानी बैंकर तथा व्यवसायीका रूपमा परिचित छन् । उनले लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेका हुन् । मौनी र सूरजले संयुक्त रूपमा शैक्षिक प्रविधिसम्बन्धी मञ्च तथा रेस्टुरेन्ट व्यवसाय पनि सञ्चालन गर्दै आएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours