२९ वैशाख, काठमाडौं । सन् २०२६ को फिफा विश्वकप सुरु हुन केही समय मात्र बाँकी रहँदा ब्राजिलका स्टार फरवार्ड नेयमार जुनियरका समर्थकहरूका लागि खुसीको खबर आएको छ। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले विश्वकपका लागि सार्वजनिक गरेको प्रारम्भिक टोलीमा नेयमारको नाम समावेश गरिएको छ।
अक्टोबर २०२३ मा घुँडाको गम्भीर चोटका कारण लामो समय मैदान बाहिर रहेका ३४ वर्षीय नेयमारले हालै सान्तोस क्लबबाट खेल्दै उच्च लयको संकेत दिएका छन्। आइतबार रेड बुल ब्रागान्टिनो विरुद्धको खेलमा सान्तोसलाई २-० को जित दिलाउन नेयमारले उत्कृष्ट गोल गरेपछि प्रशिक्षक एन्सेलोटीले उनलाई टोलीमा समेट्ने निर्णय गरेका हुन्। सान्तोसका प्रशिक्षक कुकाले नेयमारको प्रदर्शनको प्रशंसा गर्दै उनले खेलको गति परिवर्तन गर्न सक्ने क्षमता अझै कायम राखेको बताएका छन्।
यद्यपि, नेयमारलाई अन्तिम २६ सदस्यीय टोलीमा स्थान बनाउन भने अझै चुनौती छ। प्रशिक्षक एन्सेलोटीले भिनिसियस जुनियर, राफिन्हा र क्यासेमिरो जस्ता खेलाडीहरूलाई केन्द्रमा राखेर टोली निर्माण गरिसकेको बुझिएको छ। नेयमारले अब हुने कोपा डो ब्रासिलको आगामी खेलहरूमा आफ्नो फिट्नेस र लय प्रमाणित गर्नुपर्नेछ। ब्राजिलले आगामी सोमबार आफ्नो अन्तिम टोलीको घोषणा गर्ने तयारी गरेको छ।


+ There are no comments
Add yours