स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

२९ वैशाख, काठमाडौं । Snow Rivers Limited ले आज (बैशाख २९ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको थियो।

कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार ७५० कित्ता श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ।

त्यस्तै, ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र १८ हजार ७५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको शेयरसमेत वितरण भइसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। यसका लागि न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

यो आईपीओमा आवेदन दिने अन्तिम म्याद छिटोमा जेठ १ गतेसम्म रहेको छ। सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ १२ गतेसम्म लम्बिनेछ।

ICRA Nepal ले कम्पनीलाई ‘[ICRANP-IR] BB+’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको Super Kabeli Khola A Hydroelectric Project आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २० करोड १४ लाख रुपैयाँ रहेको यो आयोजनाको विद्युत उत्पादन अनुमति अवधि अझै ३१ वर्ष २ महिना बाँकी छ।

आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.१७ वर्ष रहेको छ भने छुट (डिस्काउन्टेड) आधारमा लगानी फिर्ता अवधि १५.७७ वर्ष रहेको कम्पनीले जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक Sanima Capital Limited रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत ‘सी-आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours