२४ बैशाख, काठमाडौँ । सरकारले निजामती सेवा र स्वास्थ्य सेवाअन्तर्गतका राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार, नेपाल निजामती सेवा ऐन, २०७४ अन्तर्गतका आठ तथा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका चार वटा ट्रेड युनियनको दर्ता खारेज गरिएको हो।
निजामती सेवाअन्तर्गत खारेज भएका युनियनहरूमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन नेपाल रहेका छन्।
त्यसैगरी, स्वास्थ्य सेवाअन्तर्गत नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको दर्ता पनि खारेज गरिएको विभागका प्रवक्ता मणिनाथ गोपले जानकारी दिए।
उक्त ट्रेड युनियनहरू निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) तथा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत विभागमा दर्ता भएका थिए।
हालै सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत सार्वजनिक सेवामा रहेका ट्रेड युनियनसम्बन्धी व्यवस्था हटाएको थियो। उक्त अध्यादेश राष्ट्रपतिबाट जारी भएसँगै ती सेवाका राष्ट्रियस्तरका ट्रेड युनियन स्वतः निष्क्रिय भएका थिए।


+ There are no comments
Add yours