राष्ट्रपति किम जोङ छोरी किम जु एलाई फेब्रुअरी अन्त्यमा हुने सत्तारूढ दल वर्कर्स पार्टी बैठकबाट सर्वोच्च नेतापछिको शक्तिशाली पद प्रथम सचिव बनाउने कसरतमा
०१ फागुन, सोल । उत्तर कोरियाका राष्ट्रपति तथा सत्तारूढ दल वर्कर्स पार्टीका सर्वोच्च नेता किम जोङ उनले आफ्नी १३ वर्षीया छोरी किम जु एलाई उत्तराधिकारी तोक्ने तयारी गरेको दक्षिण कोरियाली गुप्तचर एजेन्सीले जनाएको छ । नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले बिहीबार दक्षिण कोरियाका सांसदलाई यसको जानकारी गराएको हो ।
उत्तर कोरियाले यसै महिनाको अन्त्यमा वर्कर्स पार्टीको भेला बोलाउँदै छ । यस भेलामा किमले आफ्ना प्रमुख नीतिगत लक्ष्य सार्वजनिक गर्ने आकलन गरिएको छ । त्यसक्रममा आफ्नो सत्तालाई बलियो बनाउने कदम पनि उनले चाल्न सक्ने अनुमान छ । प्रत्येक ५ वर्षमा यहाँ वर्कर्स पार्टीको भेला हुने गरेको छ । सांसदहरूलाई बन्द कोठामा ‘ब्रिफ्रिङ’ गर्दै एनआईएसका अधिकारीहरूले छोरी जु एलाई किमले आगामी पार्टी भेलामा हजारौं सदस्यसामु प्रस्तुत गर्न सक्ने बताए । दक्षिण कोरियाली सांसद ली सेङ क्वनले एपीसँग यस ब्रिफिङको पुष्टि गरेका छन् ।
जु ए पहिलो पटक नोभेम्बर २०२२ मा आफ्ना बुबासँगै सार्वजनिक भएकी थिइन् । जुनबेला उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेको थियो । त्यसयता उनी हतियार परीक्षण, सैन्य परेड, कारखाना उद्घाटन जस्ता कार्यक्रममा बाबु किमसँगै देखिँदै आएकी छन् । गत सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनपिङसँगको भेटवार्तामा पनि उनी किमसँगै देखिएकी थिइन् । गत महिना उनले प्योङयाङस्थित किम परिवारको समाधिस्थल कुमसुसान सन प्यालेस भ्रमण गरेकी थिइन् । यहाँ किमका हजुरबुबा र बुबाको शव राखिएको छ ।
सन् १९४८ मा उत्तर कोरियाको स्थापनासँगै यहाँ किम वंशले नै लगातार शासन गर्दै आइरहेको छ । किमका हजुरबुबा किम इल सुङ उत्तर कोरियाका संस्थापक नेता हुन् भने १९९४ मा उनको निधनपछि किम जोन इलले शासन सत्ता सम्हाले । २०१० मा आफ्नो स्वास्थ्य अवस्था बिग्रिएपछि इलले २६ वर्षका किम उनलाई उत्तराधिकारी तोकेका थिए । डिसेम्बर २०११ मा हृदयाघातले इलको निधन भएपछि किम उन जोङ सर्वोच्च नेता बने । तर उनीसँग राजनीतिको पर्याप्त अनुभव थिएन । यही कारण पनि उनले छोरीलाई राजनीतिमा अभ्यस्त गराउँदै लैजान खोजेको हुन सक्ने एनआईएसले जनाएको छ ।
उत्तर कोरियाली समाजमा पुरुषप्रधान नेतृत्वको परम्परागत मानक भंग गर्दै पछिल्लो समय किमकी बहिनी कि यो जोङ नेतृत्वदायी भूमिकामा सक्रिय छिन् । उनले दाजुको सल्लाहकारका रूपमा धेरै राजनीतिक निर्णयमा हस्तक्षेप गर्न सक्छिन् । सार्वजनिक कार्यक्रममा पछिल्लो समय किशोरावस्थाकी छोरी जु एको उपस्थिति पनि बढ्दो छ । ‘विगतमा एनआईएसले जु एलाई उत्तराधिकारी प्रशिक्षणमा सरिक गराइएको जानकारी दिएको थियो । तर, आज उनीहरूले उत्तराधिकारी नियुक्ति चरणमा शब्द प्रयोग गरे,’ लीले भने ।
पश्चिमा मिडियामा ठूलो चर्चा भए पनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किम जोङ उनकी छोरीको नाम कहिल्यै प्रकाशित गरेको छैन । उनलाई राज्य नियन्त्रित मिडियाले ‘सबैभन्दा प्रिय’ सन्तान भनेर उल्लेख गर्ने गरेका छन् । पूर्व एनबीए स्टार डेनिस रोडम्यानले
आफ्नो उत्तर कोरियाको गोप्य भ्रमण अनुभव सुनाउने क्रममा उनको नाम पहिलो पटक लिएका थिए । २०१३ मा प्योङयाङ भ्रमणका क्रममा आफूले किम जोङकी शिशु छोरीलाई बोकेको र उनको नाम किम जु ए रहेको बताएका थिए ।
दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूले जु ए त्यही वर्ष जन्मिएको जनाएका छन् । २०२३ मा एनआईएस अधिकारीहरूले किम जोङ उन र उनकी पत्नीका तीन सन्तान रहेको सांसदहरूसँग बताएका थिए । जु रएभन्दा जेठा एक छोरा छन् । तर, कान्छो सन्तान छोरा हुन् वा छोरी भन्ने दक्षिण कोरियाली गुप्तचरलाई पनि थाहा छैन । जेठो छोराका विषयमा पनि उनीहरूलाई कुनै जानकारी छैन । दाजु हुँदाहुँदै बहिनीलाई उत्तराधिकारीको प्रशिक्षण किन दिइँदै छ भन्ने विषय पनि स्पष्ट छैन ।
दक्षिण कोरियाली राजनीतिक विश्लेषक चेङ सेङ–चाङले गत महिना कुमसुसानको भ्रमण अर्थपूर्ण रहेको बताए ।
‘किमले आफ्नी छोरीलाई हजुरबुबा र बुबा सामुन्ने पेस गर्नु उनलाई नै उत्तराधिकारी बनाउन चाहेको संकेत हुन सक्छ,’ उनले भने । चेङका अनुसार फेब्रुअरी अन्त्यमा हुने पार्टी बैठकमा उनले जु एलाई प्रथम सचिव पद दिन सक्छन् । यो पद सर्वोच्च नेतापछिको शक्तिशाली पद हो । तर, नियमअनुसार पार्टी सदस्य कम्तीमा १८ वर्षको हुनुपर्ने भएकाले अहिल्यै किमले त्यस्तो गर्न नसक्ने आकलन अन्य विश्लेषकहरूले गरेका छन् । ‘यदि किमले पार्टी भेलामा आफ्नी छोरी उत्तराधिकारी बनाउन खोजे भने संकेतहरू थप जटिल हुनेछन्,’ दक्षिण कोरियास्थित इन्स्टिच्युट अफ युनिफिकेसनका पूर्वअध्यक्ष को यु ह्वानले भने, ‘उदाहरणका लागि पार्टीले कोरिया कसरी अन्य कम्युनिस्ट राज्यभन्दा लामो समय बाँचेको छ भने आत्मप्रशंसा जारी गर्न सक्छ । देशको सफल वंशलाई क्रान्तिको विरासत बोकेको श्रेय दिन सक्छ । यदि त्यस्तो प्रतिक्रिया देखियो भने जु ए उत्तराधिकारी बन्ने अनुमान तर्कसंगत हुनेछ,’ कोले भने ।
एपी


+ There are no comments
Add yours